चीन पठाइयो थप एक जोडी गैंडा



चितवन । छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा आज (मंगलबार) काठमाडौं पठाईएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलवार साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई यही साउन ३१ गते चीन पठाउने कार्यक्रम तय भएको छ ।

सूचना अधिकारी अर्यालका अनुसार गैंडा छोड्न चितवनबाट प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, १० जना सुरक्षाकर्मी, केयर टेकर ३ जना, भेटेनरी सहायक १ जना गैंडासँगै काठमाडौं गएका छन् । गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यात सम्बन्धी प्रमाणपत्रलगायतका सबै कानुनी प्रक्रिया पुरा भईसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो ।

‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्दार गरी ल्याएर सौराहामा राखिएको थियो । नेपाल सरकारले यसअघि एक जोडी ‘भद्र’ र ‘रुपसी’लाइ चीन पठाई सकेको छ । सो गैँडालाई चीनको ग्वान्झाओस्थित चिमे लाङग पार्कमा राखिएको छ भने अहिले पठाउन लागिएको सोल्टी र मितिनीलाई चीनको सांघाई चिडियाखानामा राखिने जनाइएको छ ।

दुर्लभ एक सिंगे गैडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ । पछिल्लो गणना अनुसार नेपालमा ६४५ एकसिंगे गैंडा रहेका छन् भने ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्