कर्मचारीतन्त्रमा देखिएको उद्दण्डता रोक



निजामती सेवालाई स्थायी सरकारको रुपमा लिइन्छ । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरु फेरबदल हुने गरे पनि निजामती सेवाका कर्मचाहरु भने फेरिने गरेका छैनन् ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानलाई सार्थक बनाउनको लागि कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । समृद्धिको सपना त्यति बेला मात्र साकार हुन्छ, जुन बेला निजामती कर्मचारीहरुले सरकारको योजना कार्यान्वयन गर्न मन, बचन र कर्मबार्ट काम गर्छन् ।

निजामती सेवामा प्रवेश गरेपछि कर्मचारीको मुख्य दायित्व र कर्तव्य भनेको देश र जनताको पक्षमा काम गर्नु हो । कर्मचारी नागरिकको सेवक पनि हो । ऊ जनताकै सेवा गर्नको लागि निजामती सेवामा प्रवेश गरेको हुन्छ । कर्मचारीतन्त्र कामभन्दा पनि गफमा बढी रमाएको गुनासो व्याप्त छ । सहजै हुने कामको लागि पनि नागरिकहरुलाई अनावश्यक हैरानी र दुःख दिने गरेका दृष्टान्तहरु धेरै छन् । यसको अर्थ सबै कर्मचारीहरु गलत छन् भन्ने होइन । तर केही गलत प्रवृत्ति बोकेका कर्मचारीहरुको कारण सिंगो कर्मचारीतन्त्रप्रति नै नकारात्मक प्रश्न उठ्ने गरेको छ ।

देश र जनताको पक्षमा काम गर्छु र राष्ट्रको सेवा गर्छु भनेर निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरु काम गर्नभन्दा पनि राजनीति गर्न बढी तल्लीन देखिएका छन् । राजनीतिक दलका भ्रातृ संगठनमा बस्ने, राजनीतिक दलको शक्तिको दुरुपयोग गर्दै सरकारले खटाएको ठाउँमा नजाने, भनसुन गरेकै भरमा जागिर खाने प्रवृत्ति पनि देखिन्छ । राजनीति गर्ने हो भने जागिरबाट राजीनामा दिएर आउने आँट गर्नुपर्छ । होइन भने सरकारले खटाएको ठाउँमा जान आनाकानी गर्ने संस्कार गलत छ ।

सिंहदरबारभित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा कर्मचारी सरुवाको विषयलाई लिएर हातपातको प्रयास भएको छ । यो सुन्दा पनि लाजमर्दो विषय हो । कर्मचारीहरुले आफू अनुकूलको जागिर खानको लागि विभिन्न कर्मचारी संगठन खोलेर बसेका छन् । सरकारी कर्मचारी भए पनि कर्मचारी संगठन सञ्चालन गरेर सरकारलाई नै चुनोती दिने गलत प्रवृत्ति हो । सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने आँट हरेक कर्मचारीहरुले गर्नुपर्छ । सरकारले पनि कर्मचारीतन्त्रमा देखिएको उद्दण्ड खालको संस्कार रोक्नका लागि कडा कदम चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्