तीजमा रत्यौली कि वेदनाका गीत ?



यति बेला नेपाली सांगीतिक बजारमा दिनकै दर्जनभन्दा धेरै तीजका गीतहरु सार्वजनिक भैरहेका छन् । २०७५ सालको तीज पर्वको अवसर पारेर गीत सार्वजनिक गर्ने होड नेपाली सांगीतिक बजारमा चलेको छ । अडियो क्यासेट तथा भिडियोका सीडी–डिभीडीको बजारमा माग नरहेको भए पनि आधुनिक डिजिटल माध्याम युट्युबमार्फत गीतहरु सार्वजनिक भैरहेका छन् ।

सांगीतिक बजारमा गीत सार्वजनिक गर्नेको लर्कोमा पुराना तथा नयाँ कलाकार सबै छन् । चलेका कलाकार तथा नवोदित कलाकार एउटै मैदानमा प्रतिस्पर्धामा रहेको सांगीतिक बजारमा नयाँ–नयाँ स्वादका गीतहरु त आएका छन् तर तीनको प्रभावका विषयमा भने निकै कम मूल्याङ्कन हुने गरेको छ । पछिल्लो समय शिव अँखेलीको शब्द, विनोद भण्डारी तथा सम्झना भण्डारीको स्वरमा बजारमा अएको गीतलाई मात्रै आधार मान्ने हो भने पनि नेपाली गीत संगीतको यात्रा कतातिर मोडिँदै छ भन्ने कुरा प्रस्ट हुन्छ । तीजजस्तो पर्वमा पनि रत्यौली र ठट्यौली गीतहरुलाई प्राथमिकता दिएर गाइएका गीतहरुलाई व्यंग्य गर्दै उनीहरुले गीत तयार पारेका छन् ।

तीज पर्व नारी वेदनासँग जोडिएको पर्वको रुपमा मानिदै आएको छ । तीजको बेला नारीका वेदनामा आधारित रहेर गीत गाउने र आफ्नो भरिएको मन हलुंगो बनाउने प्रचलन छ । तर पछिल्लो समय तीजका गीतमा आएको विकृतिको विषयमा तीजकै अवसर पारेर बजारमा आएको गीतले खबरदारी गरेको छ । नेपाली लोक संस्कृतिको विषयमा विद्यावारिधि गरेका डा. कुसुमाकर न्यौपानेको भनाइलाई आधार मान्ने हो भने रत्यौली भनेको बिहेको रातमा रतिक्रीडामा आधारित रहेर महिलाहरुले गाउने गीत हो । तर पछिल्लो समय तीजको अवसरमा रत्यौलीकै झल्को दिने खालका गीतहरु निर्बाध बजारमा आइरहेका छन् ।

गीत तथा संगीतले समाजको रुपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गीत संगीतको माध्यमबाट समाजमा रहेका विकृति, विसंगतिको अन्त्यको बिगुल फुक्न सकिन्छ भने जनचेतनाको विस्तारका लागि पनि गीत संगीत महत्वपूर्ण माध्यम हो ।

पर्यटनको प्रवद्र्धन, प्रचार–प्रसार र विकास निर्माण तथा हरेक क्षेत्रको विषयमा जानकारीका लागि लयबद्ध तरिकाले चेतना जगाउन गीत संगीतलाई माध्यम बनाउन सकिन्छ । यी र यस्ता प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि नेपाली गीत संगीत पछिल्लो समय विकृतिको बाटोमा लागिरहेका छन् । नेपालमा गीत बनाउन वा गाउनका लागि कुनै परीक्षा उत्तीर्ण गर्नुपर्दैन, बनाइएका र गाइएका गीतहरुको प्रभावको विषयमा खोजी गर्ने निकाय पनि नेपालमा छैन । र, बनेका गीतमा प्रयोग भएका शब्द, लय र स्वरको अनुगमन, नियमन र नियन्त्रण तथा कार्वाही गर्ने निकायसमेत मौन अवस्थामा छ ।

त्यसैले पछिल्लो समय तीज, दशैँजस्ता महत्वपूर्ण चाडपर्वको अवसर पारेर बजारमा आउने र सिजन तथा बाह्रै महिना चल्ने हिसाबले बजारमा आउने गीतको विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यदि समयमा नै ध्यान पु¥याउन नसकेमा सकारात्मक सन्देश बोकेर जान सक्ने गीत संगीतको नकारात्मक प्रभावले समाजलाई गलत बाटोमा लैजान बेर लाग्दैन । तीजमा रत्यौली हैन, वेदना पोख्ने गीत गाउने, तिहारमा ठट्यौली हैन देउसी गाउने वातावरण सिर्जना गरौं ।
– सावित्रा केसी, पुल्चोक ललितपुर ।

प्रतिक्रिया दिनुहोस्