नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक



काठमाडौँ ।
वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण खनालले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा लेखक रिसालले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउँदै पुस्तक प्रकाशित भएर आफूमा थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले यो पुस्तकले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताउँदै कुन समयमा कसको नेतृत्वमा सरकार बनेको कुरा पुस्तकले जानकारी दिनेछ भन्नुभयो ।

प्रा खनालले सरकारका मन्त्री र सांसदका सङ्ग्रह निकालेर लेखकले नेपाली इतिहासलाई जीवन्त बनाउने प्रयास गरेको धारणा व्यक्त गर्नुभयो ।

पुस्तकमा २००७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री, मन्त्री, सांसद र प्रदेश सांसदको नामावली समावेश गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्