बनेपा हेल्थ केयर बिरामीको मन जित्न सफल हुन्छ



जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले बनेपामा नयाँ स्वास्थ्य संस्थाको स्थापना भएको छ। बनेपा हेल्थ केयरमा ई.सि.जि, कलेजो, मृगौला, थाईराईड, रगतको गुणस्तर, चिनी रोग, बरिष्ठ चिकित्सक परामर्श, भिडियो एक्स रे, पिसाव परिक्षणको कार्य हुने हेल्थ केयरका संचालक जितेन्द्र थापाले बताउँनुभयो। साथै हेल्थ केयरमा अत्याधुनिक फिजियोथेरापी सेवा, पेट तथा छातिका समस्याहरू, ब्लड प्रेसरका समस्या, ग्यास्ट्रिक, प्रसुती तथा स्त्रि रोग, बाल रोग, नाक कान घाँटीका समस्याहरूको परिक्षण हुने उहाँले संस्थाको उद्घानका अवसरमा बताउनुभएको हो। हेल्थ केयरको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरर्सिह बादेले गर्नुभएको थियो।

उहाँले बनेपा हेल्थ केयरले फरक अनुभव सहितको स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने र बनेपावाटै काठमाण्डौंको सुविधा दिने उदेश्यले खोलिएको बनेपा हेल्थ केयरवाट धेरै जनता लाभान्वित हुने आशा लिएको पनि बताउँनुभएको थियो।

बनेपा हेल्थ केयरका अध्यक्ष सुजाता अधिकारीले कमिशन रहित सहुलियतपुर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तरगत बनेपा हेल्थ केयर बनेपाले यहाँको जनसंख्यालाई ध्यानमा राखी स्थापना गरेको बताईन्। पहिलो दिनमै ५ सय भन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए। युवाहरूकै लगानीमा बनेपावाटै थेरापी सुविधा सहितको हेल्थ सेन्टर स्थापना गरिएको स्पार्क हेल्थ होमका डा. सुनिलकुमार पौडेलले जानकारी गराउनुभएको थियो।

बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशित रूपमा बढिरहेको बिरामीहरूको स्वास्थ्य समस्यालाई समाधान गर्ने उद्देश्यसहित स्थापना गरिएको हेल्थ केयरमा बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अरु स्वास्थ्य संस्थामा भन्दा भिन्न तरिकाले उपचार गरिने बारे नेपाल समाचारपत्रका लागि मोतिराम तिमल्सिनाले हेल्थ केयरका म्यानेजिङ डाइरेक्टर शिव पौडेलसँग गरेको कुराकानी :

अस्पतालै अस्पतालको बीचमा बनेपा हेल्थ केयर स्थापना हुँदैछ, के छ यसको मुख्य उद्देश्य ?
स्वास्थ क्षेत्रमा म लामो समयदेखि कार्यरत छु। बनेपाका स्वास्थ्य क्षेत्र, स्वास्थ्य संस्थाहरूमा भएका विकृतिहरूको मैले राम्रोसँग अवलोकन पनि गरेको छु। ति कुराहरूलाई चिर्नको लागि र आफ्नै ठाउँमा सर्वसुलभ मुल्यमा उचित स्वास्थ्य सेवा दिने हाम्रो प्रमुख लक्ष्य भएको कारण यो संस्था संचालनमा आएको हो।

बनेपा हेल्थ केयरमा के कस्ता सेवा सुविधाहरू रहेका छन् ?
हामीले पूरक चिकित्सा सँगसँगै आधुनिक चिकित्सा सेवा दिने छौ। हामीले केही समयमा नै आयूर्वेद तथा प्राकृतिक चिकित्सा सेवा पनि दिन्छौं।

स्वास्थ्य क्षेत्रमा भएको कुरीति र विसंगति स्वास्थ्य क्षेत्रकै समस्या हुन् कि सीमित अस्पतालहरूको ?
अलि चलेको अस्पतालहरूमा विरामीहरूको खाँचो हुँदैन भन्ने घमण्ड पनि हुन सक्छ। विरामीलाई जति सेवा दिनुपर्ने हो सो दिनु पर्दैन भन्ने महसुस पनि भएको हो कि। प्रायः स्वास्थ्य संस्थाहरूमा विरामीहरूलाई आफूले फुटबल झै खेलाई खेलाई अरुलाई पास गर्ने गरेको देखियो। उसले पनि अरुलाई जिम्मा लगाएको अवस्था छ। यिनै कुराहरूलाई चिर्नको लागि हाम्रो संस्था संचालनमा आएको हो।

पुरक चिकित्सा विषय भनेको चाही कस्तो हो ? अरु अस्पतालमा हुने भन्दा फरक हो की कस्तो हो ?
नेपालको स्वास्थ्य क्षेत्रमा एउटा मात्रै वाटो समात्ने परम्पराको विकास भएको छ। पूरक चिकित्सा भनेको वैकल्पिक चिकित्सा पद्दति हो। सर्जरी गर्नुपर्ने केसमा सर्जरी गर्नुपर्ने हुन्छ। अरुको शरीरमा खेलवाड गर्नुहुँदैन। यदि अप्रेशनविना नै वैकल्पिक चिकित्सा पद्दतिबाट सम्भव छ भने किन उपचार नगर्ने ? यसर्थ कुन पद्दति लिँदा विरामी निको हुन्छ त्यो हेरेर हामी उपचार गर्छाैं। त्यसो हुँदा अरु अस्पताल भन्दा त भिन्न पक्कै पनि छ।

प्राकृतिक चिकित्सा पद्दति कस्तो खालको पद्दति हो ?
यो सेवा तत्काल हामीकहाँ उपलब्ध छैन। यो पञ्चतत्व विधिबाट उपचार गर्ने विधि हो। यो विधि कुनैपनि हानिरहित उपचार पद्दति हो। यो विधिबाट उपचार गर्दा सम्बन्धित रोगको मात्र उपचार हुने हुँदा यसले अरु रोगहरू निम्त्याउने सम्भावना हुँदैन।

एलोपेथिक उपचार पनि दिनुहुन्छ ?
इमरजेन्सी केशहरूमा पूरक चिकित्साले केही काम नगर्ने हुनाले एलोपेथिक उपचार अत्यावश्यक हुन्छ। सबै उपचार पद्दतिको आ–आफ्नै उद्देश्य र सेवा रहेको हुन्छ। यसलाई हामी सँगसँगै अगाडि लिएर जान्छौं।

बनेपा हेल्थ केयरमा बिरामीहरूले यो अलावा अरु सेवाहरू के प्राप्त गर्छन् ?
हामीकहाँ एड्भान्स कम्प्लिट फिजियोथेरापी सुविधा पनि दिएका छौं। यो कम शुल्कमा राम्रो उपचार पद्दति हो। प्रायः हाडजोर्नी तथा नशाका विरामीहरूलाई यो फिजियोथेरापी अत्यावश्यक नै छ। कम्मर, गर्धनको नशा च्यापिएको, बुढेसकालमा आउने विभिन्न हाडजोर्नीका समस्याहरू लगायत स्पोर्टस् इन्जुरीमा समेत फिजियोथेरापी
लाभदायक छ।

फिजियोथेरापीको मूल्य के कति रहेको छ ?
हामीले अहिले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले स्वास्थ्य सेवा दिन खोजिरहेका छौं। पैसा त जहाँबाट पनि कमाउन सकिन्छ। अर्काको शरीरलाई ठिक पार्छु भनेर संचालन गर्ने अनि तिनीहरूलाई नै चुस्ने, रोग लागेको भनेर पैसा असुल्ने उद्देश्य हाम्रो हुँदै होइन। हामी निश्चित रकम लिएर उपचार गर्छाैं। तर सेवा अनुसारको मूल्य विल्कुलै कम छ।

कुन रोगका विरामीहरूले यस केयरमा उपचार गर्न सक्छन् ?
हामीले हाडजोर्नी तथा नशाका विरामीलाई उच्च प्राथमिकतामा राखेका छौं। त्यस सँगसँगै पेटसम्बन्धी, प्रसुति, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, ब्लडप्रेसर र सुगरका विरामीहरूलाई समेत हामीले उपचार गर्छाैं।

हाडजोर्नी र नशासम्बन्धी विरामी हुन नदिन केही उपायहरू छन् ?
हाडजोर्नी र नशासम्बन्धी रोग भनेको उमेर बढ्दै गएपछि शरीरमा हाडजोर्नीहरू खिइँदै जानु, चिप्लो पदार्थ कम हुदै जानाले पनि समस्याहरू बढ्दै जान्छ। यसलाई पूर्णरूपमा निराकारण गर्न भने सकिन्नँ। अरुचाहिँ हाम्रो दैनिक गरिने क्रियाकलापमा भर पर्छ। शरीरको बनोट अनुसार हामीले काम गर्छौै भने समस्याहरू आउँदैन।

पछिल्लो समय युवापुस्तामा नै हाडजोर्नी र नशासम्बन्धी रोगहरू देखिन थालेको छ नि ?
पक्कै पनि पछिल्लो समय युवा पुस्तामा यो समस्या बढिरहेको मैले देखेको छु। हाम्रो काम गराई, उठाई, सुताई, बसाई, खेल खेल्दा ध्यान दियौं भने यो समस्या हुन पाउँदैन। अर्काे कुरा युवा पुस्ताले खराब आसन अपनाइरहँदा पनि यो समस्या देखिन थालेको हो।

शिविर पनि गर्दै हुनुहुन्छ ? के कस्तो सेवा सुविधा रहेको छ ?
हामीले विशेषज्ञ डाक्टरहरूलबाट सेवा दिन्छौं। जुनसुकै विशेषज्ञहरूलाई देखाउनुभयो भने पनि जाँच शुल्क लाग्ने छैन। हामीले रु. १ सयमा थाइराइडको चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं त्यस्तै निःशुल्क रूपमा सुगर चेकजाँच गर्दछौं भने अन्य रगत जाँच, भिडियो एक्स–रेमा ५० प्रतिशत सम्म छुट प्रदान गरिन्छ। यो सेवा सुविधा सम्पूर्ण सर्वसाधारणका लागि हो।

स्वास्थ्य सेवा प्रदानको लागि यो ठाउँ नै किन रोज्नुभयो ?
मेरो जन्मथलो काभ्रे नै हो। म विगत ११ वर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छु। नेपालको विभिन्न ठाउँमा मैले सेवा
दिँदै आएको छु भने म आफ्नै जन्मिएको ठाउँमा सेवा किन नदिने भनेर यस ठाउँमा स्वास्थ्य सेवा दिनको लागि बनेपा हेल्थ केयर संचालनमा आउन लागेको हो।

शहरी क्षेत्रमा मात्र स्वास्थ्य केन्द्रहरू थुप्रिए भन्ने एकखालको गुनासो छ नि ?
यो गुनासो जायज पनि छ। प्रायः सेवा दिने संस्थाहरू शहरमुखी नै हुन्छ किनकी शहर भनेको केन्द्र हो र आम जनताहरूको पहुँचमा पुग्छ तर हाम्रो हकमा हाम्रो यो संस्थालाई शाखाको माध्यमद्वारा भावी दिनमा गाउँ गाउँमा लैजाने योजनामा पनि लागेका छौं।

अन्तमा,
२६ गते शनिवारबाट बनेपा हेल्थ केयरलाई विधिवत रूपमा उद्घाटन गरि संचालनमा ल्याई सकेकाछौं। यो हाम्रो सम्पूर्ण काभ्रेलीको स्वास्थ्य संस्था हो। अबका दिनमा आम काभ्रेलीले निःशुल्क स्वास्थ्य शिविरको फाइदा लिन सक्नुहुनेछ। स्वास्थ्यसम्बन्धी परामर्श गर्नुपरेमा निर्धक्कसँग यस संस्थामा आएर बुझ्न सक्नुहुनेछ।

हामीले अहिले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले स्वास्थ्य सेवा दिन खोजिरहेका छौं। पैसा त जहाँबाट पनि कमाउन सकिन्छ। अर्काको शरीरलाई ठिक पार्छु भनेर संचालन गर्ने अनि तिनीहरूलाई नै चुस्ने, रोग लागेको भनेर पैसा असुल्ने उद्देश्य हाम्रो हुँदै होइन। हामी निश्चित रकम लिएर उपचार गर्छाैं। तर सेवा अनुसारको मूल्य विल्कुलै कम छ।

प्रतिक्रिया दिनुहोस्