भारतको धौलीगंगाको बाँध खोलिँदै, नेपालमा सतर्क अपनाउन आग्रह



विनोदसिंह विष्ट, बैतडी,
भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ। बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सतर्कता अपनाउन आग्रह गरेको छ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

बाँधको पानीका कारण महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुवै देशका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। दार्चुला सदरमुकामबासीलाई सबैभन्दा बढी सतर्क रहनुपर्छ।
दार्चुलाको ब्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीयलाई सुरक्षित भएर बस्न एंव पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो।

पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ। केही दिनपहिले दार्चुलामा सम्पन्न नेपाल भारतका जिल्ला अधिकारीको बैठकमा बाँधको पानी छाड्ने समयबारे जानकारी अर्थात् सूचना आदानप्रदान गर्ने सहमति भएको थियो। यस वर्षमात्रै धौलीगंगाको बाँध ४ पटक खोलिएको छ। धौलीगंगा जलविद्युत् परियोजनाको क्षमता २८० मेगावाट रहेको छ। यसअघि धौलीगंगा जलविद्युत् परियोजना छिरकिल्ला बाँधमा पानीको मात्रा अत्यधिक भएका कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए।

विसं २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौंको क्षति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्