आलिताललाई पर्यटकीय गन्तब्य बनाउन गाँउपालिकाद्वारा पहल शुरु



राम धामी, डडेल्धुरा ।
क्षेत्रफल र गहिराईका हिसाबले प्रदेश नं. ७ कै ठुलो मानिने मनोरम र रमणीय आलिताललाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न आलिताल गाँउपालिकाले पहल शुरु गरेको छ ।
मुलुकभरिका थप एक सय नयाँ पर्यटकीय गन्तव्यको पहिचानगरि संरक्षण, सम्वद्र्धन र विकासमा योगदान पुगाउने सरकारको पाँच बर्षे कार्ययोजनाअनुसार नेपाल पर्यटन बोर्डले सम्भावित नयाँ गन्तव्यका लागि आवेदन गर्न आह्वान गरेपछि आलिताल गाँउपालिकाले पर्यटकीय सम्भावना बोकेको आलितालाई पर्यटकीय गन्तब्य बनाउन पहल थालेको हो ।
डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाँउपालिका–३ स्थित महाभारत पर्वत श्रृंखलाको काखमा अवस्थित मनमोहक आलितालमा भौतिक पुर्वाधार विकासमा लगानी गरिरहेको आलिताल गाँउपालिकाले आलिताललाई नयाँ पर्यटकीय गन्तब्यका रुपमा सुचीकृत गर्न नेपाल पर्यटन बोर्ड समक्ष कार्यक्रम प्रस्तावना पेश गरिसकेको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
आलिताल गाँउपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले काम थालेदेखिनै आलितालको विकासका लागि योजनावद्ध रुपमा काम शुरु भएको आलिताल गाँउपालिकाले जनाएको छ । गत आर्थिक बर्षमा आलिताल गाँउपालिकाले गाँउपालिकाको केन्द्रदेखि तालसम्म पुग्ने ३ किलोमिटर लामो पर्यटन सडक निर्माण गरेको छ भने राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिसँग समन्वयगरि ताल क्षेत्रमा पिकनिक स्र्पोट, शौचालय, फुलबारी र तालमा सयर गर्न डुंगाहरु राख्ने काम कार्य सम्पन्न भएको आलिताल गाँउपालिका–४ का वडाध्यक्ष चन्द्रदेव बोहराले बताए ।
आलिताल लगायत गाँउपालिका भित्ररहेका सम्भावित पर्यटकीय स्थलहरुको पहिचानगरि संक्षिप्त जानकारी सहितको ब्रोसर उत्पादन, पर्यटकीयस्थलहरुको भिडियो डकुमेन्ट्री निर्माण र सम्भावित सबै पर्यटकीय स्थलसम्म पुग्ने बाटोघाटो निर्माण लगायतका कार्यहरु गत आर्थिक बर्षमा सम्पन्न भएको गाँउपालिकाका अध्यक्ष गुरुङले बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत बोर्डका अधिकारीहरु, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अधिकारीहरु र सरोकारवालाहरुसँग भेटघाटगरि आलिताललाई एक सय नयाँ पर्यटकीय गन्तब्य भित्र समावेश गर्न आग्रह गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर एक सय ओटा नयाँ गन्तब्य तय गर्ने आफ्नो पाँच बर्षे कार्ययोजनामा राखेको छ । आलिताल गाँउपालिकाले कृषि र पर्यटन विकास मार्फत स्थानीयस्तरमा आर्थिक विकास र समृद्र्धी हासिल हुने ठहरगर्दै गाँउपालिकाको योजना तर्जुमा गर्दा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्