‘नो पार्किङ’ प्रति नेपाली कांग्रेस गम्भीर



हेटौंडा ।
विगत केही दिनअघिदेखि हेटौंडा बजारमा नियमित गरिँदै आएको पार्किङलाई हेटौंडा उपमहानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गरेपछि उत्पन्न विवादप्रति नेपाली कांग्रेस मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उचित स्थायी पार्किङ व्यवस्थाका लागि स्थानीय व्यवसायी, आमजनता, स्थानीय, बुद्धिजीवी, नागरिक समाज, यातायात व्यवसायी, प्रहरी÷प्रशासनलगायत सकारात्मक हुँदाहुँदै पनि नगरपालिकाले व्यवस्था गर्न नसकेको विदितै रहेको कांग्रेसले बताएको छ ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजारमा रहेको पार्किङ व्यवस्थालाई भरपर्दो वैकल्पिक व्यवस्था नगरी आकस्मिकरुपमा हटाउने निर्णयले चाडबाडको मुखमा बजार बन्द हुँदा स्थानीय व्यवसायी तथा आमजनतामा अन्यौल र असहजता उत्पन्न भएर प्रत्यक्ष असर परेको भन्दै पार्टी प्रवक्ता प्रदीप कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–यस समस्या समाधानका लागि यथाशीघ्र हेटौंडा उपमहानगरपालिका र स्थानीय व्यवसायीबीच समझदारी निर्माण गरी समस्या समाधान गर्न हार्दिक अपिल गर्दछौं ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले सामाजिक सञ्जालमार्फत् ‘नो पार्किङ’ को विरोध गर्नुभएको छ । मेयरका निकटतम् प्रतिद्वन्द्वी पराजुलीले ‘नो पार्किङ’ निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।
तत्काल ‘नो पार्किङ’ फिर्ता गरेर एकतर्फी पार्किङको व्यवस्थापन गर्न उपमहानगरपालिकासँग आग्रह गरिएको छ । व्यवस्थित पार्किङ व्यवस्था गरेरमात्र ‘नो पार्किङ’ लगाउन उहाँले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्