‘टिष्टुङ महोत्सव’ असोजमा



हेटौंडा ।
थाहानगर–६ मा असोजमा ‘टिष्टुङ महोत्सव’ हुने भएकोे छ । असोज २४ देखि २७ गतेसम्म महोत्सव हुने मूल आयोजक समिति अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
ऐतिहासिक टिष्टुङमा महोत्सवले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा मिल्ने जनाइएको छ । उत्तरी मकवानपुरको मात्र होइन, मुलुककै रमणीय तथा पर्यटकीय क्षेत्र टिष्टुङ उपत्यकाको चर्चा बढेको छ । स्थानीय शैक्षिक तथा धार्मिक महोत्सवबाट विद्यालयको प्रारुप फेर्ने भन्दै जुर्मुराएपछि यसको प्रचारका लागि युवा पनि अगाडि बढेका हुन् ।
पुरानो प्रसाशनिक र बोलीचालीको नाम टिष्टुङ, पछि बज्रबाराही र हाल थाहानगरका रुपमा रुपान्तरण भएको क्षेत्रलाई राष्ट्रकै नमूना केन्द्र बनाउने प्रयासस्वरुप स्थानीय लागेका छन् । महोत्सव गर्नुको मुख्य उद्धेश्य नै त्यस क्षेत्रलाई केन्द्रका रुपमा विकास गर्नु हो । भविष्यमा राष्ट्रकै नमूना बनाउने भन्दै प्रयास गरिएको छ ।
टिष्टुङको बज्रबाराही क्षेत्र एक ऐतिहासिक लघुनगर हो । त्यहाँ लिच्छवीकालका महत्वपूर्ण शीलालेख अलपत्र छन् । भटुवालको कोलटारमा रहेको अंशुवर्माको शीलालेख हँसिया उध्याउने ढुंगाको रुपमा परिणत भइसकेको छ भने पाल्चोकस्थित बज्रबाराही माविपरिसरमा रहेको नरेन्द्रदेवको शीलालेख पनि क्रमशः बेवारिस बन्दै गएको छ ।
लिच्छवीकालमा महत्वपूर्ण भन्सार केन्द्र थियो भनिएको र लिच्छवीराजा नरेन्द्रदेवले बस्ती बसालेको इतिहासमा उल्लेखित स्थान हालसम्म पनि पछि नै परेको छ । त्यहाँ उपत्यकाका पहिलो आदिवासी गोपालवंशको सन्तान गोपालीको बसोवास छ । उनीहरुको पृथक कला र सँस्कृति छ ।
मल्लकालबाट सुरु भएका विभिन्न नाच तथा जात्राहरु चलिरहेका छन् । मठमन्दिर संरक्षणका लागि हजारौं वर्ष पहिलेबाट गुठीको व्यवस्था गरिएको छ ।
२०३७ सालतिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभाग प्राध्यापक धनवज्र बज्राचार्य र हेमन्त राणा इतिहासका विद्यार्थीहरु लिएर अध्ययनका लागि त्यस ठाउँ पुग्नुभएको थियो । उहाँहरुले महिनौं ऐतिहासिक तथा पुरातात्विक सम्पदा अध्ययन गरेर केही तथ्यहरु सार्वजनिक गर्नुभएको थियो । ‘टिष्टुङ चित्लाङ भेगको इतिहास’ नामक पुस्तक उहाँहरुले प्रकाशन गर्नुभएको थियो । त्यतिमात्र होइन, त्यहाँ विकास हुँदै गएको होमस्टे र त्यहाँका रीतिरिवाजका आधारमा यो महत्वपूर्ण पर्यटकीय केन्द्र हुनसक्छ ।

प्रदेश–३ मा बन
१५ डिभिजन र ९६ सवडिभिजन
हेटौंडा,(नेस)÷३ नम्बर प्रदेशका १३ जिल्लामा बनका १५ वटा डिभिजन कार्यालय रहने जनाइएको छ । मकवानपुर र सिन्धुलीमा २ वटा डिभिजन कार्यालय रहने छ । अन्य जिल्लामा एउटा डिभिजन कार्यालय रहने गरी गृहकार्य अघि बढाइएको छ ।
प्रदेशमा रहने १५ डिभिजन बन कार्यालयअन्तर्गत् ९६ वटा सवडिभिजन बन कार्यालय रहने विभागले जनाएको छ । नयाँ संविधान कार्यान्वयनका क्रममा सरकारले बन व्यवस्थापनका लागि बनको संरचनालाई पुनर्संरचना गर्ने तयारी गरेको हो । अब जिल्ला बन कार्यालयलाई प्रतिस्थापित गरी सरकारले डिभिजन बन कार्यालय स्थापना गर्न लागेको छ ।
विभागले सबै जिल्ला बन कार्यालयलाई डिभिजन कार्यालयको सीमांकन, मुकाम रहने स्थान, स्थानीय तहको नाम, जनसंख्या, बन संरक्षण पद्धति, सवडिभिजन कार्यालयको नामलगायत सबै विवरण माग गरेको छ ।
७ दिनभित्र विवरण विभागमा पठाउन निर्देशन गरिएको छ । मकवानपुर बन डिभिजन कार्यालय हेटौंडा राप्ती बन डिभिजन कार्यालय मनहरी रहने छ । दुई वटा डिभिजन कार्यालयमा १६ वटा सवडिभिजन कार्यालय रहने विभागको पत्रमा उल्लेख छ ।
यी दुवै कार्यालयअन्तर्गत् रहने १६ वटा सवडिभिजन कार्यालयको नाम, स्थानीय तह, सीमांकनलगायत विषयहरु उल्लेख भएको विवरण पठाउन बन विभागले पत्राचार गरेको छ । जिल्ला बन प्रमुख प्रह्लाद धितालले विभागबाट स्पष्ट निर्देशन नआएकाले सीमांकनलगायत छलफलकै क्रममा रहेको बताउनुभयो ।
‘विभागको पत्रपछि छलफलको क्रममा छौं,’ जिल्ला बन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले भन्नुभयो । मनहरी गाउँपालिकादेखि हेटौंडा हुँदै बागमती गाउँपालिकासम्मको क्षेत्र समेटेर एउटा डिभिजन निर्माण गरिने चर्चा स्थानीयस्तरमा चलेको छ ।
महाभारत क्षेत्रलाई समेटेर अर्काे डिभिजन बनाउने बहस पनि चलेको छ । यसरी सीमांकन भएमा महाभारततर्फको डिभिजन बन कार्यालय अत्यन्त दुर्गमजस्तो हुने भन्दै विरोध सुरु भएको छ । मकवानपुरमा रहेका प्रतिनिधिसभाका दुई क्षेत्रलाई डिभिजन मानेर सीमांकन गर्दा वैज्ञानिक हुने तर्क पनि छ ।
साबिक जिल्ला बन कार्यालय रहँदाका इलाका र सेक्टरहरु पनि यही अभ्यास भएको पाइन्छ । मकवानपुरमा उत्तरदेखि दक्षिणसम्म महाभारतदेखि चुरे क्षेत्र दामासाहीरुपमा विभाजन गरेमा दुवै डिभिजन बन कार्यालयहरु सशक्त हुने बताइएको छ । तर जिल्ला बन कार्यालय मकवानपुरले केकसरी सीमांकन गर्ने हो त्यो प्रतीक्षाकै विषय बनेको छ ।
मकवानपुरको कुल क्षेत्रफलको ६५ प्रतिशत भूभाग बन÷जंगलले ढाकेको छ । जिल्लाको कुल बन क्षेत्रमध्ये आधाभन्दा बढी भाग पहाडी क्षेत्रको साल बनले ओगटेको छ भने बाँकी बन क्षेत्रमा खोटे सल्ला र चौंडा पातमिश्रित बन, सालको मिश्रित बन र खस्रु र यसको मिश्रित बन छ ।
भूउपयोगको दृष्टिबाट मकवानपुरमा कुल भूभागको ५४.८१ प्रतिशत (१,३३,९८७.१८ हेक्टर) बन क्षेत्र र १०.५१ प्रतिशत (२५,६९६.८२ हेक्टर) संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष) समेत गरी ६५.३४ प्रतिशत (१,५९,६८३ हेक्टर) बन÷जंगलले ढाकेको क्षेत्र रहेको देखिन्छ ।
हावापानीको दृष्टिबाट जिल्ला शीतोष्ण, समशीतोष्ण र उष्ण गरी तीन भागमा पर्ने भएकाले जैविक विविधताको दृष्टिले पनि जिल्ला धनी छ । जिल्लाको पश्चिमी भागमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी भागमा पर्ने पर्सा बन्यजन्तु आरक्ष बन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणका दृष्टिले महत्वपूर्ण स्थलका रुपमा पर्दछन् । जडिबुटी उपलब्धताका दृष्टिले जिल्ला सम्पन्न रहेको मानिन्छ । जिल्लामा अवस्थित मुख्य पर्वत श्रृंखलामा चन्द्रागिरि, महाभारत र चुरे छन् ।
मकवानपुरमा ४ सय २४ सामुदायिक बन, ६ सय ९५ वटा कबुलियती बन, निजी बन २ सय २१ वटा र धार्मिक बन ५ वटा छन् ।

प्रतिक्रिया दिनुहोस्