व्यापार र कनेक्टिभिटी बिमस्टेका मुख्य एजेन्डा



नेपाल समाचारपत्र
काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको क्षेत्रीय व्यापार, कनेक्टिभिटी, गरिबी निवारणजस्ता विषयमा केन्द्रित हुने भएको छ।

क्षेत्रीय व्यापार र लगानीलाई परिणाममुखी बनाउन ‘बिमस्टेक फन्ड’ कोष र ‘बिमस्टेक पूर्वाधार बैंक’ स्थापना गर्न सदस्य राष्ट्रका परराष्ट्र अधिकारीले सुझाएका छन्। शनिबार काठमाडौंमा सम्पन्न सदस्य राष्ट्रका परराष्ट्र सचिवस्तरीय ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम)मा क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउनेबारे छलफल भएको हो।

सम्मेलनको तयारी, एजेन्डा र घोषणापत्रको मस्यौदा तय गर्न सोम बैठक आयोजना भएको हो। वर्षांै अघिदेखि बहसमा सीमित बनेको स्वतन्त्र व्यापार सम्झौता चौथो सम्मेलनको महत्वर्पूण एजेन्डा बन्ने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो। सो विषयलाई मूर्तरूप दिन सम्मेलन उपयोगी हुने र त्यसको विस्तृत खाका सम्मेलनलगत्तै आगामी महिना तयार हुने उहाँले बताउनुभयो। ‘सेप्टेम्बरमा यो विषयमा बंगलादेशमा महत्वर्पूण र विस्तृत छलफल हुँदै छ’, उहाँले भन्नुभयो– ‘त्यसको तयारी बंगलादेशले गरिरहेको छ।’

चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ। नेपालजस्ता भू–परिवेष्ठित र पर्वतीय मुलुकका लागि ‘माउन्टेन इकोनोमी’ र समुद्र मार्गसँग पहुँच भएका सदस्य मुलुकका लागि ‘ब्लु इकोनोमी’को अवधारणालाई सोम बैठकले जोड दिएको छ। त्यसै गरी बिमस्टेकलाई समय सापेक्ष र परिणाममुखी बनाउन आवश्यकताअनुसार राय, सुझाव हरेक राष्ट्रका प्रतिनिधि रहने गरी प्रबुद्ध समूह (ईपीजी) खडा गर्नेबारेमा पनि छलफल भएको छ। गत वर्ष काठमाडौंमा सम्पन्न १७औं बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठक माउन्टेन र ब्लु इकोनोमीसहित ईपीजीको अवधारणा अघि सारेको थियो।

बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। बिमस्टेकका विभिन्न १४ प्राथमिकता क्षेत्रलाई पुनः संरचना गर्दै समयसापेक्ष बनाउन, सचिवालयलाई सबल र सक्षम बनाउन, जनशक्ति र अन्य स्रोत साधनको व्यवस्था गर्न पनि सोम बैठकले सुझाएको छ। बैठकमा लोगो र झन्डा परिवर्तन गर्ने विषयमा छलफल भए पनि चौथो सम्मेलनअघि त्यस्तो सम्भावना नरहेको सचिव वैरागीले जानकारी दिनुभयो। सदस्य राष्ट्रका परराष्ट्र सचिवस्तरीय यस्तै प्रकृतिको बैठक सम्मेलनअघि आगामी भदौ १३ गते काठमाडौंमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस्