अझै भेटिएनन् बेपत्ता विद्यार्थी, गोताखोर टोली फर्कियो



बुद्धवीर बाहिङ राई, सोलुखुम्बु
गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ। गत बुधबार बिहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शव भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो।

उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभित्र गएर खोजीकार्य गर्नुपर्ने भएकाले ४ दिनसम्म लगाताररूपमा खोजीकार्य गर्दा गोताखोर टोलीका सदस्यलाई चिसोका कारण समस्या भएको थियो। अत्यधिक चिसोका कारण गोताखोर टोलीको स्वास्थ्यमा देखिएको समस्या र प्रतिकूल मौसमका कारण खोजीकार्यलाई बन्द गरी फर्किएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो।

खोजीकार्यमा सशस्त्र प्रहरी बलको २ गोताखोरसहित ५, नेपाली सेनाका ५, नेपाल प्रहरी ५ र स्थानीय जनप्रतिनिधि एवं स्थानीय १६ गरी ३१ जनाको टोलीले लगातार ४ दिनसम्म गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्य गरेको थियो। टोलीले ५ दिनपछि बेपत्ता २ विद्यार्थी पेम्बादोर्जी शेर्पा र सुनिल बराइलीको खोजीकार्य पुनः गर्ने पनि वडा अध्यक्ष अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्