श्रीमानको सम्झना गर्न पचास हजारको पुस्तक सहयोग



नरेन्द्र केसी, दाङ ।
दाङको घोराही उपमहानगरपालिका १५ भृकुटीटोल निवासी ८३ बर्षीया धर्मकुमारी लम्सालले स्वर्गीय श्रीमान भीमकान्त लम्सालको स्मृतिमा सर्वोदय पुस्तकालय तथा वाचानालयलाई ५० हजार मूल्य बराबरको पुस्तक हस्तान्तरण गर्नुभएको छ । उहाँले शनिवार घोराहीमा आयोजित एक कार्यक्रमबीच पुस्तकालयलाई पुस्तक हस्तान्तरण गनुृभएको हो ।

पहिले मृतकको सम्मानमा रुख रोप्ने, प्रतिक्षालय आदि बनाउने गरिएको भए पनि बदलिंदो समाजको आवश्यकता र चेतनालाई मध्यनजर गरी पुस्तकालयलाई पुस्तक प्रदान गरिएको नाति निकेशकुमार लम्सालले जानकारी दिनुभयो । २०१० सालमा स्थान भएको सर्वोदय पुस्तकालयले पुनर्जीवनका लागि अभियान थालेकाले यसमा केही सहयोग होस् र समाजका अन्य क्षेत्रको पनि ध्यानाकर्षण होस् भनेर हजुरबुवाको स्मृतिमा हजुरआमाले पुस्तक प्रदान गरेको बताउनुभयो । अहिले संसारमा चलेका नाम चोमस्की, फुकुयामा, नेपालका डोरबहादुर बिष्ट आदिले लेखेका समाजशास्त्र, राजनीतिकशास्त्र र दर्शनशास्त्रका गरी ८० वटा पुस्तक प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै भाषाविद् चुडामणि गौतमले पनि पुस्तकालयलाई पुस्तक सहयोग गर्नुभएको छ । पुस्तकालयले थालेको भाषा शुद्धिकरण अभियानलाई सहयोग पुगोस् भनेर उहाँले जनता बुक स्टल घोराहीमार्फत ब्याकरणसहितका पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले समाज रुपान्तरणमा पुस्तकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले बौद्धिक र चेतनशील समाजको निर्माण गर्न पुस्तक अध्ययन जरुरी रहेको भन्दै पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अन्य वक्ताहरुले पनि यस क्षेत्रकै पुरानो पुस्तकालयलाई अब स्तरीय र सुविधासम्पन्न बनाउनुपर्ने धारणा राख्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

पुस्तकालय ब्यवस्थापन तथा सञ्चालक समिति अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, नागरिक समाज दाङका संयोजन चन्द्रराज पन्त, दाङ उद्योग वाणिज्य संघमा अध्यक्ष नारायणप्रसाद भुसाल र नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओलीले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन पुस्तकालय ब्यवस्थापन समितिका सचिव सुदीप गौतमले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि नेपालीसहितले पुस्तकालयको आजीवन सदस्यता लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्