बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता बारे छलफल



यमलाल भुसाल, बुटवल ।
प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलसंग चाईन रेलवे इन्टरनेशलन ग्रुपको एक टोलीले शुक्रबार भेटगरी रामग्राम–लुम्बिनी–कपिलबस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यताबारे छलफल गरेको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताउनु भयो । उहाँले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर, निर्माण लगायतका विषयमा लुम्विनी विकास कोष, प्रदेश योजना आयोग, मुख्यमन्त्री कार्यालयसंग छलफल गरी अघी बढ्न चिनियाँ टोलीलाई आग्रह गर्नुभयो ।

चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुती गरेको थियो । मुख्यमन्त्री पोखरेलसंगको भेटमा चाइना रेलवे इन्टरनेशनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसंग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्ति गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तिर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्