अमेरिकाको प्रलोभनमा पारी ठगी गर्ने एक व्यक्ति पक्राउ



नेपाल समाचारपत्र, काठमाडौँ ।

अमेरीकन एम्बेसीको भिसा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ डिल्लीबजारका हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका ६ मा बस्दै आएका २७ बर्षीय प्रशन्न खाती रहेका छन् ।

खातीले विभिन्न एप्लिकेशनको माध्यमबाट विभिन्न देशका भिसाको नक्कली कागजात, उच्च पदस्थ विदेशी फेक ईमेल आईडी बनाई बिभिन्न बैंक तथा संस्थाहरुको नक्कली स्ट्याम्प तयार पारी आफू अमेरीकाको डिस्कभरी च्यानलको कर्मचारी भएको भन्दै ठगी गरेको पिडितहरुको भनाई रहेको छ ।
खातीले अमेरीकाको भिसा लगाइदिन्छु भनि आफ्नो मोबाइलमा फेक भिसा लागेको देखाई एक पिडितसंग बीस लाख र अर्कासंग पच्चीस लाख ठगी गरेको पिडितले बताए ।

खातीले डलर तथा पाउण्डस्टर्लिरङको नोटको साइजमा रहेको कागज जस्तो देखिने कालो रङको बस्तुलाई केमिकलको सहायतामा डलर तथा पाउण्डस्टर्लिङमा परिवर्तन गर्न सकिन्छ भनेर ठगी गर्ने योजना समेत बनाएको अनुसन्धानमा खुल्न आएको छ । उनलाई श्रावण २३ गते मंगलबार काठमाडौं गोकर्णेश्वर नगरपालिका ६, माकलबारीबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्