यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमणमा २९ को मृत्यु, ३० घाइते



काठमाडौं । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको मृत्यु भएकाे छ भने ३० जना घाइते भएका छन् । पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जनाएको छ ।

हुथी विद्रोहीले ४३ को ज्यान गएको र ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ । गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन । गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।

गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्