विकास निर्माणका कामहरु प्रभावकारी हुनुपर्छः गुरुङ



प्रताप बानियाँ, म्याग्दी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहहरुले सञ्चालन गर्ने विकास निर्माणका कामहरु प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले आज सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै उहाँले योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले संघीयतालाई सफल पार्न स्थानीय सरकार बलियो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै विकास निर्माणका गतिविधिको प्रभावकारी कार्यान्वयन तथा अनुमगन गर्न निर्देशन दिनुभयो । उहाँले गौरवका आयोजनाहरुमा ढिलासुस्ती हुने गरेको भन्दै काम नगर्ने ठेकेदारलाई कार्वाही गरिने चेतावनी समेत दिनुभएको छ । उहाँले विकास निर्माणको अनुगमन गरेर समयमै सम्पन्न गर्ने वातावरण बनाउन स्थानीय तहलाई आर्गह गर्नुभयो ।
गण्डकी प्रदेशले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको भन्दै मुख्यमन्त्री गुरुङले चीनसँगको मुस्ताङ–कोरला नाका खुलाउन आफूले स्थलगत अनुमगन गरी संघीय सरकारलाई अनुरोध गरेको जानकारी दिनुभयो । उहाँले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरलाई प्रदेश राजधानी पोखरा र नवलपरासीको त्रिवेणी नाका जोड्ने, कोरला नाका खुलाउने र त्रिवेणी भन्सारको स्तरोन्नति गर्न प्राथमिकता दिएको पनि बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर गण्डकी प्रदेशको लाइफलाइन भएको भन्दै यसलाई कोरला नाकासम्म जोडिने बताउनुभयो । उहाँले कोरला नाकासम्म कोरिडोर जोडिएपछि चीनसँग व्यापार व्यवसाय हुने र यसको प्रत्यक्ष फाइदा गण्डकी प्रदेशवासीलाई पुग्ने अपेक्षा गर्नुभएको छ । उहाँले उत्तर–दक्षिण नाका खोलेर सञ्चालनमा आएपछि विकासले गति लिने बताउनुभयो । मुस्ताङ–कोरला नाका सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, गोदाम घर निर्माणलगायत संरचनाहरु बनाउने मुख्यमन्त्रीको भनाइ छ ।
उहाँले असारे विकासको प्रवृत्तिका कारणले गर्दा विकास निर्माण र आर्थिक वृद्धीदरमा प्रत्यक्ष रुपमा असर पारेको बताउँदै बजेट बिनियोजन भएका योजनाको प्रभावकारी अनुगमन, समाधानको प्रयास र सहजीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कर प्रणालीलाई एकद्वार प्रणाली र प्रगतिशिल बनाउने भन्दै मुख्यमन्त्री गुरुङले भ्रष्ट्राचार र ढिलासुस्ती न्युनीकरण, आर्थिक सुशासन कायम गर्न जिल्ला समन्वय समितिको सक्रिय भुमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र रोजगारको सिर्जना गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि जोड दिएको बताउँदै व्यावसायिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरेर युवा पलायन रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
प्रतिनिधिसभा सांसद भूपेन्द्रबहादुर थापा र प्रदेश सांसद विनोद केसीले संविधान कार्यान्वयन गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै जिल्लाको विकास निर्माण गर्न एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्