प्रताप बानियाँ, म्याग्दी ।
विदेशबाट फर्किएपछि व्यावसायिक पशुपालनको स्याहारसुसार, तरकारी र फलफुल खेतीको गोडमेलमा व्यस्त छन्, म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका रनबहादुर खत्री । उमेरले ५४आंैं वसन्तमा लागेका उनी अहिले व्यावसायिक पशुपालन र कृषि खेतीमा कम्मर कसेर लागेका छन् ।
पशुपालनको स्याहारसुसार र कृषि खेतीको रेखदेख गर्ने उनको दैनिकी नै हो । उनले व्यावसायिक रुपमा बाख्रा तथा कुखुरापालन, फलफुल र तरकारी खेती गरेका छन् । २० वर्ष विदेश बसेर आफ्नै देश फर्किएपछि उनले गाउँमै पशुपालन र कृषि सुरु गरेका हुन् । बबहराईनबाट फर्किएर कृषक खत्रीले २०७२ सालदेखि व्यावसायिक रुपमा पशुपालन र कृषिको खेती सुरु गरेका थिए ।
विदेशमा रहँदा उनले तीनवर्ष श्रमिक भएर काम गरे भने बाँकी १७ वर्षसम्म सवारीचालकको रुपमा काम गरे । बहराईनको एक कम्पनीमा भ्यान, जिप र कार चलाएका खत्रीले बिहान÷बेलुका मान्छे ओसार्ने र दिउँसोको समयमा काममा चाहिने मालसामान ओसार्ने गरेको बताए ।
गाउँ बस्दा कमाई गर्ने खासै काम नपाएपछि उनी विदेशिएका थिए । तीनवर्ष पहिले घर आएका कृषक खत्रीले झारजङ्गलले भरिएको, उत्तिस पलाएको र फुलपाती फुलेको देख्न नसकेपछि आफ्नो खाली जग्गा÷जमिनमा कृषि खेती सुरु गरे ।
खाली जग्गामा घाँसखेती गरेर उनी सुरुमा व्यावसायिक बाख्रापालनमा लागे । घरमा रहेका दुईओटा बाख्रामाथि एउटा बोकासहित २० ओटा बाख्रा थपेर उनले २३ ओटा पु¥याई बाख्रापालन व्यवसाय अगाडि बढाए । अर्को वर्ष २३ ओटा बाख्राबाट बढेर ४६ पुगे ।
अर्मन, गौंस्वाँरा, चिप्लेटी र डडुवामा पुगेर अरु कृषकले गरेको व्यवसाय हेरेर बाख्रापालन सुरु गरेको उनको भनाइ छ । कृषक खत्रीले गोपाल बाख्रापालन फर्म स्थापना गरेर सञ्चालनमा ल्याएका छन् । उनले खोर निर्माण, बाख्रा खरिद, खोरमा तारजालीको व्यवस्थापन, डाले तथा भुइँघाँस रोपणसहित व्यावसायिक बाख्रापालनमा पाँचलाख रुपैयाँ लगानी गरेको जानकारी दिए ।
कृषक खत्रीको खोरमा स्थानीय खरी जातका बाख्रा र बोयर जातको बोका रहेका छन् । ८ वटा कोठाको क्षमता रहेको खोरमा ५० ओटा बाख्रा अटाउँछन् । अहिले खत्रीको खोरमा बोका, पाठापाठी, माउ बाख्रा गरेर ३६ ओटा छन् ।
गतवर्ष बाख्रा बिक्री गरेर एकलाख ६० हजार रुपैयाँ आम्दानी गरेका खत्रीले गएको बैशाखदेखि हालसम्म एकलाख १४ हजार रुपैयाँ आम्दानी गरिसकेको बताए । उनले खेतीपातीका लागि बाख्राको मल (जुतो) पनि बेच्छन् । उनीसँग १२/१४ हजारदेखि ५०/६० हजारसम्मका बाख्रा र बोका छन् । कृषक खत्रीलाई श्रीमती तुलकुमारीले राम्रो सहयोग गरिरहेका छन् । समाज परिवर्तन गर्नका लागि पहिला आफै परिवर्तन हुनुपर्छ भन्ने भावनाले परम्परागत खेती प्रणालीलाई परिवर्तन गरी आधुनिक बनाउन खोजेको कृषक खत्रीले बताए ।
सदरमुकाम बेनीमा बागवानी विषय पढेको हुँदा विदेशबाट फर्किएपछि केही न केही त गर्नैप¥यो भन्ने मनसायले कृषि खेतीतर्फ आफू आकर्षित भएको खत्री बताउँछन् । विदेशमा ड्राईभर काम गरेर स्वदेश फर्किएपछि कसरी कृषि पेशामा लाग्ने मन आयो भन्ने प्रश्नमा उनले भने– ‘आफ्नो बाबुबाजेले गरेको परम्परागत कृषि खेतीलाई केही परिवर्तन गरेर आधुनिक बनाउन खोजेको हुँ ।’ ‘देशको परिवर्तन गर्नका लागि कृषि खेतीलाई प्रोत्साहन गर्नुपर्ने र विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’ उनले भने ।
व्यावसायिक रुपमा बाख्रापालन गरेका कुहुँका कृषक रनबहादुर खत्रीले बाख्रालाई चाहिने विभिन्न डाले तथा भुइँघाँस रोपेका छन् । खत्रीको खेत, खरबारी, बारीको छेउछाउ, खोल्सा, खोल्सीमा निमारो, रायखन्यु, इपिल, किम्बु जातका डालेघाँसका विरुवा छन् ।
उनले साविकको जिल्ला पशु सेवा, वन र भू–संरक्षण कार्यालयबाट विरुवाहरु लगेर रोपेको बताए । साथै कृषक खत्रीले ५ वर्षका लागि ५ रोपनी जग्गा भाडामा लिएर विभिन्न जातका घाँस र डालेघाँस लगाएका छन् ।
बाख्रापालन व्यवसायमा होमिएका रनबहादुरले फलफुल र तरकारी खेती समेत सुरु गरेका छन् । उनले ७ रोपनीमा ५ हजार अलैंचीका विरुवा, ३ रोपनीमा सुन्तला र कागतीका दुईसय वटा विरुवाहरु लगाएको बताए । सुन्तला र कागतीसहित ४० ओटा बोटले उत्पादन दिएको उनले बताए । कृषक खत्रीले २ रोपनी जग्गामा व्यवसायिक रुपमा २ सयभन्दा बढी नङ्ग्रे, धुर्से, मुहुङ्ग्रे जस्ता स्थानीय जातको केरा खेती पनि गरेका छन् । उनले नास्पति पनि लगाएको बताए ।
यसैगरी खत्रीले १ रोपनीमा ३५ बोट किबी खेती लगाएकोमा १५ ओटाले फल दिएको छ । कृषक खत्रीले दुईवटा टनेलमा गोलभेंडा खेती गरेका छन्भने बारीमा रायोसाग, मुला, कांक्रोका साथै मौसमी र बेमौसमी तरकारी खेती लगाएका छन् । २ रोपनीमा गरेको तरकारी र फलफुलबाट वार्षिक करिब सातलाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा उनको छ । उनले साविकको जिल्ला कृषि विकास कार्यालयबाट फलफुलका विरुवा र ५० प्रतिशत अनुदानमा टनेल सहयोग पाएका थिए ।
बाख्रापालन, फलफुल र तरकारी खेती गरेका कृषक खत्रीले मासु खान र बिक्रीका लागि बोईलर कुखुरा पनि पालेका छन् । कुखुराका लागि खोर निर्माण, कुखुराका चल्ला खरिद र दानापानीमा करिब डेढलाख रुपैयाँ लगानी गरेको कुखुरापालनबाट वार्षिक दुईलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए । खत्रीले वर्षमा २५ सय केजी कुखुरा बिक्री गर्दै आइरहेका छन् । कुहुँ गाउँमै बोईलर कुखुरा बिक्री हुँदै आएको छ ।
व्यावसायिक बाख्रापालन, फुलफुल, तरकारी खेती र कुखुरापालन गरेका कृषक रनबहादुर खत्रीले बिक्री गर्न बजारको समस्या नभएको बताए । उनले गाउँमै हुने विभिन्न पुजापाठ तथा सामाजिक कार्यमा बाख्राको खसी तथा बोका बेच्ने गर्छन् । उनको खोरमै जिल्लाको विभिन्न स्थानबाट ग्राहकहरु बाख्रा, पाठापाठी तथा बोका र खसी खरिद गर्न पुग्छन् । कुहुँमा उत्पादित बाख्रा, फलफुल तथा तरकारी खेती घरबाटै बिक्री हुँदै आइरहेको छ ।
पशुपालन, तरकारी र फलफुलबाट वार्षिक आठ लाख आम्दानी
बाख्रापालन, फलफुल, तरकारी र कुखुपालन गरेका कृषक खत्रीले वार्षिक रुपमा आठलाख रुपैयाँ आम्दानी हुने गरेको बताए । उनले व्यावसायिक बाख्रापालनबाट मात्रै वर्षमा सरदर तीनलाख रुपैयाँ कमाउँछन् । त्यस्तै फलफुल तथा तरकारीबाट तीनलाख र कुखुरापालनबाट दुईलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाए ।
उनले लगाएको फलफुल खेतीले राम्रो उत्पादन दिन सके र अझै मौसम अनुकुल भएमा सबै व्यवसायबाट वर्षमा कुल १५÷१६ लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको सुनाए ।
पशुपालन र तरकारी खेती व्यवसायलाई थप व्यावसायिक बनाउन प्रविधि नहुँदा समस्या भएको कृषक खत्री बताउँछन् । २१आंै शताब्दीको युग भएकाले धेरै परिवर्तनहरु आए पनि नेपालको कृषि क्षेत्रमा समस्या नै रहेको छ । व्यावसायिक कृषि र पशुपालन गरेका कृषकलाई आवश्यक प्रविधि, औजार र सिपको अभाव रहेको उनको भनाइ छ ।