बासी नोटको धार्मिक आनन्द



साउने झरीले छपक्कै छोपेपनि तिर्थालु र ब्रतालुलाई धर्मकर्म प्यारो छ । झरी सानो होस या ठूलो भक्तजनलाई मन्दिर नपुगी सन्तुष्टी मिल्दैन । चोखो (जल) पानी, चोखो फूल, चोखो मिठाई चढाएपछि भगवानको मन जित्न सकिन्छ भन्ने भक्तजनलाई पुर्खाले सिकाए ।
पैसा जति सुकै बासी भएपनि चल्ने । अचम्म छ भन्या । भगवानलाई चढाइने पैसा (भेटी) जती सुकै बासी भएपनि चल्ने, पसल जाँदा फिर्ता आएको र अन्य कारोबारबाट बचेको पैसा भए ‘गजज्ब’ मन्दिर र भगवानलाई चढाउन ‘उत्तम’ ‘पवित्र’ ।

जति सुकै अपवित्रहरुको खल्तीबाट पाएपनि तत्कालै पवित्र हुने । अचम्मको गुण छ, पैसामा । दशैं, तिहार र अन्य चाडपर्वका लागि भनेर साट्या कटकटे नयाँ नोट घरकै सेफमा थन्क्याएर चोखो दुध, पानी, पूmल, मिठाई खोज्दै हिड्नेहरु सहरमा बाक्लै छन् । भगवान र मन्दिरमा चढाउन कञ्जुस्याँई गर्नेहरु पुरानै नोट र सिक्का चढाएर धार्मिक आनन्द लिइरहेका देख्दा धरहरा छक्क पर्छ भन्या ।

अनि धर्मकर्मका लागि मन्दिर धाउनेहरुको भित्री मन जति सुकै अपवित्र भएपनि के भो र, बाहिरी आवरण पवित्र देखाए पुग्छ । मुखमा राम–राम गर्दै बगलीमा छुरा चलाउनेहरुको ठूलो जत्था पनि ठूलै हुन्छ क्यार मन्दिरतिर । यस्तो धार्मिक लचकता हिन्दु धर्म बाहेक अन्यत्र कहाँ होला ? धरहरा खोज अनुसन्धामा जुट्या छ ।

प्रतिक्रिया दिनुहोस्