भान्से उही



केही महिनाअघि नेताहरुको पार्टी प्रवेश लहर व्यापक थियो । धेरै पार्टी एकआपसमा मिलेर हो या तत्काल चुनावको रौनक नभएर हो, त्यस्तो गतिविधी अहिले लगभग ठप्प छ । तत्कालिन एमाले र माओवादी नेकपा भएपछि वाम नेता अनि धेरैतर्फ सल्बलाउने कार्यकर्ता हलचल गर्न सक्या छैनन् ।

काँग्रेसले पनि चुनाव अघि केहीलाई काखी च्याप्यो, यो मामिलामा पृथक बन्या छ राप्रपा । तैपनि बेला मौकामा जुट्ने, एक हुने, शसक्त पार्टी बन्ने भन्न छोड्दैनन् राप्रपाका हाँगा विँगा ।

दलको त्यस्तो गतिविधी सेलाएर हो क्यार हिजो–आज पत्रकारले दिनहुँ जसो नेताझैं मिडिया परिवर्तन गरिराख्या छन् । वर्षौदेखि कुनै मिडियामा राज गरेका हुन् या केही महिना अघि मिडिया छिर्न म्याऊ म्याऊ गरेकाहरु नै किन नहुन् यता उता सल्बलाइरहेका छन् । तर शीर्ष तह, राम्रो दानापानी पाइने ठाउँ र जिम्मेवारीमा भने नेपाली उखान स्मरण गराउने गरी ‘एउटा घरको नरे, अर्को घरमा सरे’ झैं भएको छ ।

अर्थात् पत्रकारिताको डाडु पन्युँ उनकै हातमा । यता गयो त्यहि हातले डाडु चलायो, उता गयो, त्यही हातले पन्यँु । अनि पत्रकारिता क्षेत्रमा तत्काल नयाँ परिकार, नयाँ मसला, अनि नयाँ स्वाद आउछ भन्ने नसोचे पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्