पर्यटकीय क्षेत्र ठमेलः पानी पर्दा हिलो, घाम लाग्दा धूलो



रमेश लम्साल/अच्युत रेग्मी, काठमाडौँ ।
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।

ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक÷पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।

गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका थिए । ठमेलको रौनक हराउँदै गएकोमा स्थानीय व्यापारी चिन्तित छन् । सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण मझौला तथा साना सवारीसाधन नचल्दा केही सहज भए पनि हिलो र धूलोका कारण पैदलयात्रुले सहज रुपमा यात्रा गर्न पाएका छैनन् ।

सडक खन्ने र नपूर्ने प्रवृत्तिका कारण व्यापार व्यवसाय घटेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि पाए पनि आफूहरुको समस्या समाधानमा चासो नदिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्रको महत्व र गरिमालाई कायम राख्न तत्काल सडक कालोपत्र गर्न उनीहरुले माग गरेका छन् । वर्षात्का कारण ठमेल क्षेत्रको सडक मर्मत र कालोपत्र गर्न समस्या भएको जानकारी दिँदै स्थानीय जनप्रतिनिधिले केही दिनभित्रैमा समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिको भनाइ विश्वसनीय नभएको भन्दै स्थानीय व्यवसायीले भने तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

“पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला रु” ठमेलका व्यवसायी किरणदेव घिमिरे भन्नुहुन्छ ।

यस्तै समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउनुहुन्छ । “ठमेलले नेपालको आर्थिक विकासमा ठूलो भूमिका खेलेको छ, तर यसको विकासका लागि राज्यले केही गर्न सकेको छैन,” उहाँले भन्नुभयो, “विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ ।”

अहिले ठमेलको क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा स्वदेशी तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । फ्रान्सबाट नेपाल घुम्न आउनुभएका जेराल्ड राजधानीकै बीच भागमा रहेको ठमेलको अवस्था कल्पना नै गर्न नसकिने भएको गुनासो गर्नुहुन्छ । पटक÷पटक नेपाल भ्रमणमा आएको बताउनुहुने उहाँले सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

अमृतमार्ग अगाडि ‘ब्यास ट्राभल्स एण्ड टुर्स’ सञ्चालन गर्दै आउनुभएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोका कारण मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउनुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा ठमेलका गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताउनुहुन्छ । “समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ,”–उहाँ भन्नुहुन्छ ।

ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको स्वीकार्नु हुन्छ । “पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ,”उहाँले भन्नुभयो । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ ।

कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजाल क्षेत्रपाटीदेखि जेपी स्कुलसम्मको सडक मर्मतका लागि मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिइसकिएको बताउनुहुन्छ । उहाँले खाल्डाखुल्डी राख्नुहुन्न भन्नेमा हामी सचेत छांैँ, समस्या समाधानका लागि पहल भइरहेको र केही समयभित्रै आफ्नो वडाका कुनै पनि स्थानमा खाल्डाखुल्डी नहुने स्पष्ट पार्नुभयो । स्थानीयवासीले सडक मर्मत नभएको भन्दै दैनिकजसो नै महानगरका वडा कार्यालयमा गुनासो गरिरहेका छन् । समस्या समाधान भने नागरिकले अपेक्षागरेअनुसार हुन सकेको छैन ।

कामनपा –१७ का वडाध्यक्ष नवीन मानन्धर ढल जाम भएका कारण समस्या समाधान गर्न सडक खनिएको भए पनि वर्षाले मर्मतमा जटिलता ल्याएको बताउनुहुन्छ । वर्षा रोकिने वित्तिकै मर्मत थाल्ने भन्दै उहाँले समस्याका कारण स्थानीयवासीलाई परेको गुनासो शीघ्र सम्बोधन गरिने उल्लेख गर्नुभयो । सरकारले आगामी भदौ १२ भित्र काठमाडौँभित्रका सडकमा रहेका सबै खाल्डाखुल्डी पूर्णरुपमा मर्मत गर्ने र खाल्डोरहित बनाउने लक्ष्य राखेको छ ।

मनसुनका कारण वर्षा हुँदा मर्मत गर्न केही समस्या भए पनि घाम लाग्ने वित्तिकै कालोपत्र गर्ने लक्ष्य राखेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ दोस्रो साताभित्रै सडक मर्मत गरिने र खाल्डाखुल्डीरहित बनाइने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते सरोकारवाला सबै निकायका प्रमुख तथा पदाधिकारीलाई बोलाएर सडक मर्मत गर्न निर्देशन दिनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्