नेपालको एक रनको रोमाञ्चक जित



नेपाल समाचारपत्र
काठमाडौं
वानडे अन्तर्राष्ट्रियमा पहिलो जित हासिल गर्न अन्तिम ओभरमा एक विकेट हात पार्नु थियो नेपालले। उता नेदरल्यान्डस्ले जित्न ६ बलमा ६ रनमै आवश्यक थियो। बलिङ गर्न आए कप्तान पारस खड्का। उनले ५ बलमा ४ रन खर्चंदा नेदरल्यान्डसले जित्न अन्तिम बलमा २ रनको आवश्यक थियो। तर अन्तिम बलमा रन लिएर टाइ गर्न खोज्दा फ्रेड क्लासनलाई पारसले रनआउट गरिदिएर नेपाललाई १ रनको रोमाञ्चक जित दिलाए। योसँगै नेपालले ऐतिहासिक २ खेलको वानडे अन्तर्राष्ट्रिय सिरिज १–१ ले बराबरी गरेको छ। यसअघि बुधबार खेलिएको पहिलो वानडेमा नेपाल नेदरल्यान्डस्सँग ५५ रनले हारेको थियो।

सोमपाल कामीले शुरुआत सफलता दिलाएको खेलमा नेपाललाई सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट झारेर फर्काएका थिए। नेदरल्यान्डस्लाई २ सय १७ रनको लक्ष्य दिएको थियो। यो चुनौतीपूर्ण लक्ष्य थियो। सिरिज बराबरीमा टुंग्याउन यो खेल जित्नै पर्ने पनि थियो। सोमपालले बलिङमा दोस्रो बलमै स्टेफन माइबर्गलाई शून्यमा आउट गरेर सानदार शुरुआत गराएका थिए। ३० रनसम्म पुग्दा ललितसिंह भण्डारीले बेन कुपरलाई व्यक्तिगत १९ रनमा आउट गरेपछि नेपालले विपक्षी टोलीलाई दबाब राख्ने संकेत देखायो। तर तेस्रो विकेटका लागि डेनियल टेर ब्राक र वेस्ली बारेसीले ८४ रनको साझेदारी गरेर नेपाली बलरलाई निरास तुल्याए। २९औं ओभरमा सन्दीपले यो साझेदारी तोडेका थिए। उनले २९औं ओभरमा डेनियललाई ३९ रनमा र बास डी लीडे (०) लाई आउट गरेर नेपाललाई खेलमा फर्काएका हुन्। यसपछि वसन्त रेग्मीले माइकल रिपोन (३ रन) लाई पनि धेरै टिक्न दिएनन्।

दीपेन्द्र सिंह ऐरीले सबैभन्दा महत्वपूर्ण विकेट दिलाए नेपालका लागि। उनले जमिरहेका बारेसीलाई एलबीडब्ल्यूको सिकार बनाएका थिए। बारेसीले ८९ बलमा ८ चौकाको सहयोगमा ७१ रनको योगदान दिएका थिए। छैटौं विकेटका रूपमा उनी आउट हुँदा नेपालको जितको आशा बनिसकेको थियो। ललित, पारस र सन्दीपले एक–एक विकेट लिएर नेदरल्यान्डस्लाई १ सय ८५ रनको लागि ९ विकेट गुमाउन विवश बनाएका थिए। तर अन्तिम जोडी क्लासन र भान मिकेरीनले लगातार रन जोड्दै गएर झन्डै नेपालसँग नतिजा छिन्ने प्रयास गरेका थिए। तर अन्तिम बलमा उनीहरूले रन जोड्न नसक्दा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भयो। सन्दीपले १० ओभरमा ४१ रन दिएर तीन विकेट लिँदै नेपालका सबैभन्दा सफल बलर बने।

यसअघि टस जितेको नेपालले पहिले ब्याटिङ गरेर ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। जसमा ८ विकेट १ सय ६३ रनका लागि गुमाएको नेपाललाई सोमपाल कामीले सहारा दिएका थिए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले सर्वाधिक ६१ रन जोडेका थिए। यो वानडेमा नेपालको तर्फबाट सबैभन्दा व्यक्तिगत उच्चतम रनसमेत बनेको छ।

उनले ४६ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहारसमेत गरे। उनलाई नवौं विकेटका लागि ४१ रनको सन्दीप लामिछानेले साथ दिएका थिए। यति साझेदारीमा सन्दीपले ८ रन मात्रै सहयोग गरेका थिए। यसअघि नेपालका शीर्ष तीन ब्याटसम्यान ज्ञानेन्द्र मल्ल १३ रन, तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्केका सुवास खकुरेल १९ रन र अनिलकुमार साह ४ रनमै पवेलियन फर्केका थिए। एक इन्डमा पारस जम्दै गए तर अर्को इन्डमा रहेका ब्याटसम्यानहरू आउट हुँदै गएका थिए। जसमा दीपेन्द्र सिंह ऐरी पनि १९ रनमै आउट भएका थिए। रोहितकुमार पौडेलले पनि ६ रनमै पारसको साथ छाडे भने पारस ५१ रन बनाएर पाँचौं विकेट रूपमा आउट भएका थिए। पारसले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्