विपक्षी नेता चामिसाद्वारा चुनावी परिणाम अस्वीकार



हरारे, (एजेन्सी)
जिम्बावेका विपक्षी नेता नेल्सन चामिसाले शुक्रबार राष्ट्रपति इम्मर्सन नान्गाग्वाको चुनावी विजयलाई अस्वीकार गर्दै यो झुठो र रुजू नगरिएको परिणाम भएको बताएका छन्। चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै एमडीसी गठबन्धनका नेता चामिसाले कानुनी चुनौती दिने चेतावनी दिएका छन्। तर जिम्बावेको चुनाव आयोग (जेडईसी)ले भने मतगणनामा कुनै पनि अनियमितता नभएको दाबी गरेको छ। लामो समय सत्तामा टिकेका पूर्वराष्ट्रपति रोवर्ट मुगावेलाई गत नोभेम्बरमा अपदस्थ गरिएयता भएको यो पहिलो आम निर्वाचन हो।

९४ वर्षीय मुगावेले पनि औपचारिकरूपमै आफूले चामिसालाई चुनावमा समर्थन गर्ने जनाएका थिए। मुगावेको लामो समयसम्म भएको दमनकारी शासनपछि यस चुनावले जिम्बावेको राजनीतिले नयाँ पथ समाउने अपेक्षा गरिएको छ।खसेको कुल ४८ लाख मतमध्ये नान्गाग्वाले ५० दशमलव ८ तथा चामिसाले ४४ दशमलव ३ तथा बाँकी उम्मेदवारले २१ प्रतिशत मत हासिल गरेको बताइएको छ। चुनाव परिणामपछि असन्तुष्ट विपक्षी समूहले निकालेको विरोध जुलुसको क्रममा छ जनाको ज्यान गएको थियो। त्यसैले अहिले पनि हरारेमा कडा सुरक्षा व्यवस्थाका लागि थुप्रो संख्यामा प्रहरी र सेना परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्