जनमत र भुँडीपुराणका पुस्तक सार्वजनिक



काठमाडौं। काठमाडौंस्थित नाचघरमा मोहन दुवालका २ वटा पुस्तक र हरि खनालका ७ वटा विविध विधाका पुस्तकहरू एक समारोहका बीच हालै सार्वजनिक गरियो। दुवालको जनमतको यात्रा (सम्पादकीय–२) र जनमतको सडकमा घामसँग (सम्पादकीय–३) को सार्वजनिकीकरण वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरेले गरे। यसै गरी हरि खनालका गीत, गजल, लघुकथा, बालकथा, नाटक र धार्मिक कथासङ्ग्रहको बुलु मुकारुङ, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान र प्रा.डा. रामचन्द्र लम्सालले सार्वजनिक गरे।

साहित्यकार प्रा.डा. सुषमा आचार्यले दीप प्रज्ज्वलन गरी शुरू भएको उक्त साहित्यिक कार्यक्रमको सभापतित्व जनमत प्रकाशनका अध्यक्ष मोहन दुवालले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि दर्शकदीर्घामा रहेका जनमनलाई गरेको उक्त कार्यक्रममा राजनीतिज्ञ तथा साहित्यकार दीनानाथ शर्माले शुभकामना मन्तव्य प्रकट गरेका थिए। अर्का विशिष्ट अतिथि डा. सुषमा आचार्यले साहित्यिक क्षेत्रमा पनि सिन्डिकेट रहेको र त्यो सिन्डिकेट तोड्न सबै साहित्यकारहरू लाग्नुपर्ने बताए। भागवण्डाको राजनीतिले उचित पात्रहरू ओझेलमा पार्नुका साथै पाखा लगाउने प्रचलन गरेर गाईजात्रा देखाइरहेकोमा आक्रोश व्यक्त गरे। समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले जनमत र भुँडीपुराण प्रकाशनले साहित्यमा पुर्याइरहेको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा सार्वजनिक भएका पुस्तकहरूबारे रोचक घिमिरे, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. रामचन्द्र लम्साल, बुलु मुकारुङले प्रकाश पारेका थिए। देवी घिमिरेको उद्घोषणमा भएको सार्वजनिकीकरण कार्यक्रममा लेखक हरि खनालले स्वागत मन्तव्य, प्रकाशक केशव पराजुलीले धन्यवाद ज्ञापन गर्नुका साथै गायिका निशा देसारले गजल गायनले दर्शकहरूलाई मुग्ध तुल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्