ऐतिहासिक वानडेमा नेपाल पराजित



नेपाल समाचारपत्र, काठमाडौं
नेपालले एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलेर नेपाली क्रिकेटको इतिहासमा नयाँ आयाम थपेको छ । २२ वर्षपछि वानडे क्रिकेटमा पाइला टेकेको नेपालले पहिलो वानडे खेल बुधबार नेदरल्यान्डस्सँग खेलियो । नेदरल्यान्डस्को एमस्टलभीन भीआरए क्रिकेट मैदानको खेल ऐतिहासिक क्षण बनेको नेपालको लागि भने सकारात्मक नतिजा भने आउन सकेन । नेपाल घरेलु टोली नेदरल्यान्डस्सँग ५५ रनले पराजित हुन पुग्यो ।

गत मार्चमा जिम्बावेमा भएको आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि भएको प्लेअफ खेलमा नेपाल नेदरल्यान्डससँग ४५ रनले पराजित भएको थियो । संजोगवश सो खेलमा पनि नेपालले १ सय ९० रनकै लक्ष्य पाएको थियो । तर नेपाल १ सय ४४ रनमा अलआउट भएको थियो । नेपालले यो समेत गरी नेदरल्यान्डससँग ६ मध्ये ४ खेल गुमाएको छ ।

वानडे अन्तर्राष्ट्रिय क्रिकेट र नेपाल
—यो नेपालको पहिलो वानडे अन्तर्राष्ट्रिय खेल
—पहिलो अर्धसतक बनाउने ज्ञानेन्द्र मल्ल
—पहिलो विकेट लिने सोमपाल कामी
—सबैभन्दा बढी विकेट (४ विकेट) लिने पारस खड्का
—पहिलो छक्का प्रहार गर्ने दिपेन्द्रसिंह ऐरी

यो नतिजापछि नेपालले दुई खेलको वानडे सिरिजमा १–० ले पछि परेको छ । नेपालले अर्को खेल भोलि शुक्रबार खेल्नेछ । सिरिज बराबरी गर्न नेपालले जित्नै पर्ने दवाव छ । हिजोको खेलमा नेदरल्यान्डस्का कप्तान पिटर सीलारले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

नेदरल्यान्डस्ले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएकोमा नेपालले नाटकीय शैलीमा लगातार विकेट गुमाएपछि हारको सामना गर्नुप¥यो । ५८ रनका लागि पहिलो विकेट गुमाएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो । नेपालले बाँकी ९ विकेट गुमाउँदा मात्र ७६ रन जोडेको थियो ।

नेपालको बलिङ

नेपालले नेदरल्यान्डस्लाई ४७.४ ओभरमा १ सय ८९ रनमा रोकेको थियो । नेपाली बलरमा कप्तान पारस खड्का सबैभन्दा सफल बलर सावित भए । उनले १० ओभरमा २६ रन खर्चेर चार विकेट लिएका हुन् । जसमा माइकल रिप्पनको विकेट पनि सामेल थिए । रिप्पनले मध्यक्रममा आएर ५१ रनको महत्वपूर्ण पारी खेलेका थिए ।
त्यस्तै फास्ट बलर सोमपाल कामीले वानडे डेब्युमै तीन विकेट हात पारेका छन् । उनले ८.४ ओभरमा एक मेडन राख्दै ३४ रन दिएका थिए । सोमपाल नेपालको वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिने पहिलो बलर बने । उनले डीजे टेर ब्राकलाई पहिलो सिकार बनाएका हुन् । अन्यमा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिए ।

नेपालको ब्याटिङ
नेपालले शुरुआती राम्रो गरेको थियो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले १२.२ ओभरमा ५८ रन जोडे । अनिलले ३ चौकाको सहयोगमा २१ रन बनाए । त्यस्तै ज्ञानेन्द्र र पारस खड्काले दोस्रो विकेटका लागि २७ रन जोडे । यहाँनेर कप्तान पारस को विकेट झर्नु नेपालको लागि दुर्भाग्य बन्यो । उनी १२ रनमा विपक्षी कप्तान सीलारकै बलमा आउट भए । यसपछि २ रन जोड्दा ज्ञानेन्द्र र आरिफ शेख (०) पनि पवेलियन फर्के । ५१ रनको योगदान दिएका ज्ञानेन्द्र नेपालको वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धसतक बनाउने पहिलो ब्याटसम्यान बनेका छन् । उनले ८ चौका प्रहार गरेका थिए ।

यसपछि दीपेन्द्रसिंह ऐरी एक्लैले डच बलरको सामना गरेर नेपाललाई जित दिलाउने प्रयास गरे । तर उनको एकल प्रयास साकार बनेन । उनी सातौं विकेटको रुपमा ३३ रन बनाएर आउट भएपछि नेपालको हार औपचारिकता मात्रै भयो । उनले २ चौका र १ छक्का प्रहार गरे भने नेपाली ब्याटिङ सोही छक्का एउटै मात्र सावित भएको थियो। बाँकी सात ब्याटसम्यानले (सरद भेषवाकरसमेत) दोहोरो अंक छुन सकेनन् । नेपाली ब्याटिङ धरासयी हुनुमा नेदरल्यान्डस्का बलरको घातक प्रदर्शन थियो । जसमा क्लासान, रिप्पन र सीलारले ३–३ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्