एन्फाले पाँच खेलाडीसँग लिखित जवाफ माग्यो



नेपाल समाचारपत्र, काठमाडौं
आउँदो एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका ५ खेलाडी एन्फाको कार्बाहीमा पर्ने भएका छन् । जसमा नेपालका उत्कृष्ट खेलाडी बिमल घर्तीमगरका साथै अन्जन विष्ट, हेमन्त थापामगर र विशाल राई र नयाँ खेलाडी छिरिङ शेर्पा रहेका छन् । यी खेलाडीले गत शुक्रबार अनुसासन तोडेको आरोप लागेपछि लिखित स्पष्टिकरण ७२ घण्टाभित्र (मंगलबारसम्म) दिनु पर्ने एन्फाले जनायो ।

उनीहरुमाथि आरोप डिस्को गएको र मादक पदार्थ गरेर हो हल्ला गरेको छ । तर सार्वजनिक भएको खबर भन्दा भिन्नै छ उनीहरुको मौखिक स्पष्टिकरण । उनीहरुले बताएका थिए कि उनीहरुका साथीको घरमा गएका थिए । तर एन्फाले मौखिकमा चित्त नबुझेपछि उनीहरुसँग लिखित स्पष्टीकरणको माँग गरिएको हो ।

शुक्रबार नेपाली टोली एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि थाइल्यान्डमा अभ्यास खेल खेल्न त्यतातिर जाँदैछ । यदि उनीहरुलाई कार्बाही भएमा नेपाली टोलीका लागि घाटा पनि हुने पक्का छ । उनीहरुसँगै टिम मेनेजर बाबुकाजी महर्जन र होस्टेल वार्डेन टक्कर थापालाई पनि सो घटनाबारे तीन दिन भित्र लिखित स्पष्टीकरण दिनुपर्ने भएको छ । त्यस्तै होस्टेलको सेक्युरिटी कम्पनी गरुडलाई पनि ७ दिन भित्र घटनाबारे स्पष्टीकरण दिन एन्फाले जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले नेपाल समाचारपत्रलाई बताउनुभयो—मौखिकमा त्यति चित्त बुझ्दो भएन । उनीहरुसँग लिखित जवाफ माँगेका छौ । खेलाडीको जवाफपछि मात्रै कार्बाही कस्तो हुन्छ भन्ने निर्णय हुनेछ । त्यो पनि छलफलबाट हुनेछ । खेलाडीले साथीकोमा गएको तर डिस्को नगएको भन्ने जवाफ दिएका छन् । तर पनि यस विषयमा राम्ररी नै छानबीन गर्नु आवश्यक पनि छ ।

प्रतिक्रिया दिनुहोस्