मैले नाटक गरेको हुँ



साओ पाउलो, (एजेन्सी)
नेयमारले रुसमा हालै सम्पन्न विश्वकप दौरान खेलमा नाटकीय स्वभाव अति बढेको स्विकार गरेका छन् । खेलमा फाउल हुँदा उनले अति नाटकीय ढंगले प्रतिक्रिया दिएको बताएका हुन् । आईतबार जारी गरेको भिडियोमा नेयमारले पहिलो पटक आलोचना स्विकार गरेको दर्शाए । उनले यस्तो अति नाटकीय प्रदर्शनमा सुधार ल्याउने पनि बताएका थिए ।

नेयमारले विश्वकपमा दुई गोल गरेका थिए । ब्रािजलको टोली क्वार्टरफाइनलबाटै विदा भएको थियो । टोली विश्वकपमा तेस्रो स्थानमा रहेको बेल्जियमसँग २–१ गोलअन्तरले हारेको थियो ।
मैदानमा फाउलपछि उनले दर्शाएको पीडालाई नाटकबाजीको संज्ञा दिएर धेरै आलोचना भएको थियो । उनलाई अक्सर खेलमा लडेको, डाइभ गरेको, पल्टेको र रेफ्रीसँग मुखामुख भएको खेलमा देखिन्छ ।

उनले बताए—म आफुभित्रको युवा जोशलाई जीवित राख्न लड्छु । तपाईलाई लागेको होला म धेरै लड्छु तर म लडेको होइन । म टुटेको हुन्छु । मैले आलोचना स्विकार गर्न लामो समय लिए । मैले स्वयम आफुलाई ऐनामा हेरेर स्वभाव परिवर्तनको वाचा गर्न धेरै समय लिएँ । तर जो लड्छ त्यही फेरि उठ्छन् ।

प्रतिक्रिया दिनुहोस्