अन्तर्राष्ट्रिय खेलकूदका पदकधारीहरु सम्मानित



काठमाण्डौ, नेस
राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ ।

काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा मन्त्रालयले आर्थिक वर्ष २०७४÷७५ मा बिभिन्न अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पदक जित्ने, एशियाली खेलकुदमा पदक तथा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी, अहिलेसम्मका ओलम्पियनहरुले पाउने मासिक पारिश्रमिक, गत वर्ष आयोजना भएको राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

गत वर्ष अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने मुवा थाइका अनिशा खड्का र राहुल थोकर लामा १ लाख पुरस्कारसहित सम्मानित भए । उनीहरुले कम्बोडियामा गतवर्ष पहिलो विश्व कुन खेमर च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै मंगोलियामा भएको नवौं विश्व बडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा रजत विजेता ननिता महर्जनले ६५ हजार तथा त्यसै प्रतियोगितामा काश्य जितेका रुजेश शाहीले ३५ हजार रुपैयाँ पुरस्कार पाए । त्यसैगरी कोरियामा भएको ५१औं एशियाली बडिबिल्डिङ च्याम्पियनसिपमा काश्य जितेका कमल भण्डारी पनि ३५ हजार नगद पुरस्कारसहित सम्मानित भए । यो पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले प्रयोजन गरेको हो ।

अहिलेसम्मका ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई नयाँ आर्थिक वर्ष २०७५÷७६ देखि मासिक ३ हजार भत्ता उपलब्ध गराउने निर्णयअनुसार राखेपले ८० जना ओलम्पियनलाई मासिक भत्ता प्रदान गरी निर्णय कार्यान्वयन गरेको छ । सन् १९६४ को टोकियो ओलम्पिकमा सहभागी स्वर्गीय भुपेन्द्रबहादुर केसीदेखि सन् २०१६ को रियो ओलम्पिकमा सहभागी गौरिका सिंहसम्मले अबदेखि मासिक ३ हजार भत्ता पाउनेछन् ।

परिषदले एशियाली खेलकुदमा सहभागी भइ पदक जितेका ८ खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा पहिलो संस्करणदेखि १२औं संस्करणसम्मका स्वर्ण विजेता ९६ खेलाडीलाई गत मंसिरदेखिको मासिक ५ हजार भत्ता एकमुष्ट वितरण गरेको छ । ९६ खेलाडीमध्ये तेक्वान्दोका दीपक विष्टको ४, संगीना बैद्यको २, एथ्लेटिक्सका बैकुण्ठ मानन्धरको ३ र करातेका दीपक श्रेष्ठको २ स्वर्ण छ । उनीहरुले प्रति स्वर्ण ५ हजारका दरले ८ महिनाको भत्ता एकमुष्ट बुझेका हुन् ।

त्यस्तै गत वर्ष आयोजित राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने फरक खेलका ६२ खेलाडीहरु नगद १५ हजारका दरले सम्मानित भएका छन् । कार्यक्रममा गत आर्थिक वर्षमा नेपालका लागि अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत जित्ने ४१७ जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट डिजाइन गर्ने सन्तोष विष्टलाई ८० हजार, गीत रचना गर्ने नारायण खतिवडालाई २५ हजार प्रदान गरिएको थियो । आठौं राष्ट्रिय खेलकुदको नारा रचना गरेका राखेप सदस्यसचिव केशवकुमार विष्टले पाएको ५ हजार पारिश्रमिक भने राखेपकै खातामा फिर्ता गरिदिएका छन् ।

खेलकुद मन्त्रालयले दुई खेलकुद पत्रकारलाई जनही ५० हजारका दरले सम्मानित गरेको छ । नेपाल टेलिभिजनका राज सिलवाल र बीबीसी नेपाली सेवाका निरञ्जन राजवंशी सम्मानित भएका हुन् । खेलकुद परिषदले सागमा स्वर्ण विजेता खेलाडीका लागिल ४० लाख, एशियाली खेलकुदमा पदक विजेता खेलाडीका लागि ४ लाख ४० हजार र बिभिन्न अन्तर्रा्ष्ट्रिय खेलमा पदक विजेता खेलाडीका लागि १९ लाख २५ हजार तथा राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि ९ लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव केशवकुमार विष्ट लगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्