ई–प्लानेट कलेज फुटसल हुँदै



काठमाडौं, (नेस)
यही साउन १७ र १८ गते दोस्रो ई–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

आईतबार आयोजक नेसनल कलेजले जानकारी गराएअनुसार ३२ कलेजले सहभागि जनाउने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित ढुकु फुटसल हबमा संचालन हुनेछन् । प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकको दावी छ ।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार तथा दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

धुम्बाराहीस्थित नेसनल कलेज अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने नेपालकै पहिलो कलेज रहेको आयोजकको दावी छ । सन् २०१० मा कलेजले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरेको थियो । बिचमा रोकिएको प्रतियोगिता गत वर्षदेखि पुनः सुरु भएको हो ।

गत बर्ष १६ टोली सहभागी रहने यस प्रतियोगितामा यसअघिको संस्करणको उपाधि नेसनल कलेजले जितेको थियो । सहभागी जनाउन ६ हजार रूपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने जानकारी पनि गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्