विधिको शासन र सुशासनका कुरा



-डा. डीआर उपाध्याय
सरकारले विकास, समृद्धि र सुशासनका कुरा गर्न थालेको धेरै नै भो तर न विकास र समृद्धि हुने संकेत देखिएको छ, न त सुशासनका कुराले नै महत्व पाएको छ । जनता यतिखेर निराश पो हुन थालेका छन् ।

विगतका सरकार र वर्तमान सरकारमा केही फरकपन नदेखिएपछि के आधारमा सरकारको विश्वास गर्ने ? सरकारले विकास र सुशासनका कुरा त गरिरहेको छ, व्यवहारमा कार्यान्वयन नदेखिएपछि त्यसको के मतलव ? सरकार तीव्र आर्थिक विकासका कुरा गरिरहेको छ, तर देशको अर्थतन्त्र नै टाट पल्टिएको अवस्था छ । नेपालको विकास भनेकै गाउँको विकास हो । गाउँगाउँमा सिंहदरबार भनिएको छ तर गाउँगाउँका युवायुवतीहरु सबै विदेश पलायन छन् ।

यो ठूलो समस्या हो । गाउँको विकास नै आजको आवश्यकता हो । हाम्रा गाउँ अझै पनि अशिक्षा, अभाव र असुविधाले ग्रस्त छन् । अहिले मुलुकमा ७५३ वटा गाउँ सरकार छन् । यी सरकारले गाउँको विकास गर्न सक्छन कि सक्दैनन्, त्यो भने चासो, चिन्ता र जिज्ञासाको विषय बनेको छ ।

अब हामी विकास र समृद्धिको मार्गचित्रमा जोडिनुपर्छ । सबैभन्दा शुरुमा गाउँको विकास गरौं । गाउँमा सडक, विद्युत्, खानेपानी, रोजगारी, निर्यातमुखी कृषि, आधुनिक पशुपालन, कृषिमा आधारित उद्योगको स्थापना, पर्यटनलगायतका क्षेत्रमा व्यापक लगानी र कामको जरुरी छ । यी क्षेत्रको विकास नभई गाउँको विकास सम्भव छैन । विकास र समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पनि छ । दक्ष जनशक्तिविना पनि विकास र समृद्धिको कल्पना गर्न सकिँदैन । गाउँमा युवा जनशक्ति नै छैन । यो विडम्बना हो । राज्यले युवाका बारेमा सोच्नुपर्छ । युवाका बारेमा गाउँमा केही आयआर्जनका अवसर सिर्जना गर्ने खालको कार्यक्रम राज्यले निर्माण गर्नुपर्छ ।

देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार रोक्ने काममा सरकार लाग्नुपर्छ । भ्रष्टाचार नरोकिएसम्म सुशासनका कुरा व्यर्थ हुनेछन् । सुशासन भनेको विधिको शासन हो । विधिको शासनअनुसार मुलुक चलेको छ कि छैन ? त्यसमा धेरै कुराको अर्थ हुन्छ । अहिले सरकारका सामु सुशासनका बारेमा प्रश्न उठ्ने पनि गरेका छन् । सरकारले कसरी हेर्छ, त्यो आफ्नो ठाउँमा रहेको छ । मुलुकले विकास र समृद्धि चाहेको छ । त्यसमा कुनै दुईमत छैन । सरकारका पछिल्ला गतिविधि हेर्दा विकास मैत्री देखिँदैन ।

समयमा विकास बजेट खर्च नहुनुमा ठेकेदार, कर्मचारी र सरकार तीनै पक्ष दोषी छन् । यी तीन पक्षको मिलेमतोमा नै कामले गति नपाएको हो । विगतमा पनि यस्तै थियो, अहिले पनि यस्तै छ अनि सुधार कसरी हुन्छ ? अब पनि शासकीय सुधार हुन सकेन भने देशले प्रगति गर्दैन । देशको विकास गर्ने हो भने सबैभन्दा पहिले शासकीय सुधार हुनु जरुरी छ ।

नेपाली जनताले अहिलेसम्म सुशासन र विकासको कुनै अनुभूति गर्नसमेत पाएका छैनन् । लोकतन्त्रमा जनताले चाहेको कुरा धेरै हो, तर केही पाउन सकिरहेका छैनन् । लोकतन्त्रमा नेता धनी, जनता गरिब हुँदै गएका छन् । हामीले कस्तो खालको लोकतन्त्रको अवलम्बन गरिरहेका छौं ? बहस गर्नुपर्ने आवश्यकता देखिएको छ । मुलुकमा प्रजातन्त्र आएको तीन दशक हुन थाल्यो तर आमनागरिकका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् जस्तो भएको छ । देशका समस्या समाधान हुन सकिरहेका छैनन् । यो बडो चिन्ताको कुरा हो ।

देशमा राजनीतिक परिवर्तन भए, व्यवस्था बदलिए, पालैपालो राजनीतिक दलहरुले शासन पनि चलाए तर जनताको जीवनस्तर जहाँको त्यहीँ छ । यो भन्दा दुःख लाग्दो कुरा अरु के हुन्छ ?

मुलुक बनाउने कुरामा राजनीतिक दलहरुको मुख्य भूमिका रहेको हुन्छ तर दलहरु नै गैरजिम्मेवारी बनिदिएपछि कसको के लाग्छ र ? राजनीतिक परिवर्तन मात्र नेपाली जनताको चाहना होइन, जनताको चाहना भनेको विकास र आर्थिक समृद्धिको हो । अहिले मुलुकमा स्थिर सरकार छ । सरकारले चाहने हो भने धेरै प्रगति र उन्नति गर्न सक्छ । यो वर्तमान वाम सरकारलाई कतैबाट अवरोध छैन । कसैलाई दोष दिएर उम्कने ठाउँ पनि छैन ।

अब सरकारले मुलुकमा भएका साध, स्रोतलाई परिचालन गरी देशको विकास गर्नुको विकल्प छैन । मुलुकको विकासका लागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता देखिएको छ । अब सरकारको ध्यान विकास निर्माणमा केन्द्रित हुनु जरुरी छ । विकास र समृद्धि मुखले बोलेर मात्र हँुदैन, काम गरेर देखाउनुपर्छ । विकास र समृद्धिको नारा बोकेर अघि सरेको कम्युनिस्टको सरकारले काम गरेर देखाउनुपर्छ । जनतालाई भ्रममा पार्ने काम नहोस् ।

जनताको काम इमानदारीका साथ होस् । दुई तिहाइ बहुमतको समर्थनमा बनेको सरकारलाई विकास र समृद्धि गर्न केले र कसले रोक्छ ? सरकारसँग इच्छाशक्ति हुने हो भने देशको विकास हुने सम्भावना देखिन्छ ।

सरकारसँग राज्यको ढुकुटी छ । राज्यको ढुकुटीलाई अनावश्यक खर्च नगरी देश विकासमा लगाउने सोच सरकारसँग हुनुपर्छ । देशमा प्राकृतिक स्रोत र साधन पर्याप्त मात्रामा छन् । तिनीहरुको सही सदुपयोग गरी परिचालन गर्ने हो भने देशको उन्नति–प्रगति गर्न सकिन्छ । हामी सबैमा इच्छाशक्ति हुने हो भने विकास र समृद्धिले गति लिन सक्छ । सधैँ कुरा मात्र गरेर बस्ने, काम नगर्ने बानीले पनि देशको विकास हुन नसकेको हो ।

जनताले यो वर्तमान सरकारबाट विकास र समृद्धिको आश गरेका छन् । तर सरकारले जुन गतिका साथ काम गर्नुपर्ने हो गर्न सकिरहेको छैन । यथार्थ कुरा यो हो । अझै पनि थुप्रै समय छ । सरकारले गतिका साथ काम गर्ने हो भने विकास र समृद्धि पाँच वर्षको कार्यकालभित्र नै सम्भव देखिन्छ ।

विकास र सुशासन नै लोकतन्त्रको मर्म हो । देश विकास हुनु आजको आवश्यकता हो । देशमा गणतन्त्र आएपछि विकासको मूल फट्छ भन्ने जनतामा एकप्रकारको आश थियो तर त्यो आश यतिखेर आएर निराशामा बदलिएको छ । अहिले देशमा स्थानीय, प्रदेश र केन्द्रको गरी तीन तहको सरकार छ । अब त विकास हुन्छ कि भन्ने जनतामा आश छ तर हालसम्म पनि देश र जनताका समस्या ज्यूँका त्यूँ छन् । कुनै पनि मुलुकको विकास हुन दूरदर्शी नेताको खाँचो हुन्छ । जब सत्तामा विकासको मार्गचित्र कोर्न सक्ने राजनेता पुग्छ तब मात्र देशको विकास र समृद्धि हुन्छ ।

देश विकासका लागि नेताहरुमा गलत प्रवृत्ति फेरिनुपर्छ । सरकारले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाए पनि समृद्धिका लक्षण नदेखिँदा धेरै जनता निराश छन् । जनतामा देखिएको निराशाका बारेमा सरकार जानकार छैन । वर्षाको समयमा धेरैजसो सडक हिलाम्मे र रोपाइँ गर्न ठिक्क पारेको खेतजस्तो देखिएका छन् । यो लाजमर्दो कुरा हो कि होइन ? जनताले सडकमा रोपाइँ गरेर सरकारको व्यङ्ग्य गरेका छन् ।

लोकतन्त्रमा पनि यस्तो हुन्छ त ? समयमा विकास बजेट खर्च नहुनुमा ठेकेदार, कर्मचारी र सरकार तीनै पक्ष दोषी छन् । यी तीन पक्षको मिलेमतोमा नै कामले गति नपाएको हो । विगतमा पनि यस्तै थियो, अहिले पनि यस्तै छ अनि सुधार कसरी हुन्छ ? अब पनि शासकीय सुधार हुन सकेन भने देशले प्रगति गर्दैन । देशको विकास गर्ने हो भने सबैभन्दा पहिले शासकीय सुधार हुनु जरुरी छ ।

सबै इमानदारीका साथ काम गर्ने हो भने कहाँ असम्भव छ ? विकसित देशहरु त्यसै विकसित भएका होइनन्, ती देशका जनता, शासक र नेताहरु इमानदार भएको कारण विकास सम्भव भएको हो । लोभीपापीहरुले देशको विकास गर्न सक्दैनन् । देशको विकास गर्न ठूलो छाती बनाएर अघि बढ्नुपर्छ । देशमा विधिको शासन चलाउनुपर्छ । सुशासनका कुरा मात्र गरेर सुशासन आउँदैन । सुशासनका लागि भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ । अनि मात्र नेपाल सुशासनयुक्त मलुकमा दर्ज हुन्छ र यहाँको विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्