राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह



संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताउनुभएको छ ।

तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकलाई “शान्तिपूर्ण मार्ग” मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिनुभएको छ । उहाँले “निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव”का रुपमा लिन सुझाव दिनु भएको अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उहाँले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गर्नुभएको छ । कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिनुभएको छ ।

आइतबार हुन लागेको निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्