आफ्नै बलात्कारीलाई आफैंले थुन्ने युवती



साओ पाउलो, (एजेन्सी)
टावाटाले फाव्रिसियोलाई बाह्र वर्षपछि सन् २०१६ को डिसेम्बरमा फेरि भेटिन्।

त्यो पुरुष टावाटाको जीवनमा प्रवेश गर्दा उनी मात्र नौं वर्षकी थिइन्। उनी ३९ वर्षीय विवाहित पुरुष थिए।ती पारिवारिक मित्रले उनलाई यौन उत्पीडन गरी दुई वर्षभन्दा लामो समयसम्म बलात्कार गरे।

तर यसपालि भने फाव्रिसियोलाई हतकडी लगाइयो। यसपालि उनले टावाटालाई होइन बरु टावाटाले उनलाई बेस्सरी समाइरहेकी थिइन्। साथै टावाटाको अर्को हातमा बन्दुक थियो। उनले आखिर फाव्रिसियोलाई जेलमा थुनेरै राहतको श्वास फेरिन्। फाव्रिसियो प्रकृतिप्रेमी फोटोग्राफर , निकै मिलनसार र कुराकानी गर्न सिपालु थिए।

उनी आफू वरपर बस्ने जोसुकैलाई सुन्दर समुद्री तट, नदीनाला र अन्य टाढाका आफूले भ्रमण गरेका ठाउँका रमाइला कथा सुनाएर मख्ख पार्न खप्पिस थिए। परिवारसँग भेटेको केही समयमै उनले टावाटाको बुबासंग राम्रो मित्रता गाँसेका थिए। दुवैजना सँँझ सँगै फुटबल खेल्थे।

केही समयपछि नै फाव्रिसियो र उनकी पत्नी टावाटाको परिवारसँग धुमिल भएर संगै पिक्निक जाने र घुम्ने गर्न थाले। यी दुवै परिवार दक्षिणी ब्राजिलको उरुग्वे नदीको किनारमा बसोबास गर्दथे। टावाटा भन्छिन् – ‘उनले मेरो शरीरमा छुने गर्न थाले। ऊ मेरोनजिक आएर टाँस्सिन खोज्थे।

मलाई अपठ्यारो लाग्थ्यो। म निकै सानी भएकीले उनको कार्य अपराध हो भनेर बुझ्न सकेकीे थिइँन।’ टावाटाले भन्छिन्– ‘घना जंगलको रुखहरूमाझ एक्लो हुँदा र कसैले नदेख्ने गरी नदीमा नुहाउने क्रममा उनले मलाई बलात्कार गर्ने गर्दथे। एकदिन क्याम्पका लागि ऊ र म पानी लिन गयौं। उसले मेरो शरीर चलाउन थाल्योे, म फुत्केर ऊभन्दा पहिले क्याम्प पुगें। मेरा आमाबुबाले म पहिला किन पुगें भनी सोधेनन्। तिनीहरूले उनलाई धेरै विश्वास गर्ने भएकाले सायद बताउँ पनि मेरो कुरा पत्याउँदैन थिए। धेरेपटक भनिदिऊँ कि जस्तो लागेको थियो तर भनिनँ।

मेरो बुबा निकै रिसाहा थिए। यस्तो कुरा पाएर बुबाले उनलाई मारे जेल जालान् भन्ने डर थियो। हजारौं विचार दिमागमा आए, आमाबुबाले मेरो कुरा नपत्याउलान् भन्ने पनि चिन्ता थियो।’ २ वर्षसम्म यस्तो यौन उत्पीडन चलिर≈यो। समय बित्दै जाँदा परिवारको रुटिन बुझेर उनले झनै फाइदा उठाउन थाले। फाव्रिसियोलाई शिक्षिका बन्न उनकी दिदी अध्ययनरत रहेको, आमा साँझ काममा जाने र बुबा फुटबल खेल्न जाने गरेको कण्ठ पारिसकेका उनी घरमा कोही नभएका बेला आउने गर्थे। टावाटा भन्छिन्– ‘उनले मलाई गालामा चडकन दिएनन्। बस एकछिन, एकै छिन, भन्दै बेस्सरी समातेर जबरजस्ती गर्थे। ’

११ वर्षको उमेर पुगेपछि टावाटाले बेस्री चिच्याउँदै सराप्दै प्रतिवाद गर्न थालिन्। उनले आमालाई सबै कुरा भन्ने विचार गरिन्। तर एक्कासि बिरामी परेकी आमालाई थप तनाव होला भनेर उनी चुप लागिन्। त्यहिबेला टावटाको बुबाको फाव्रिसियोकी पत्नीसंग चक्कर चल्न थाल्यो।

दुई साथी शत्रु बने। अचानक उनी देख्न छाडेपछि टावटालाई हाइसन्चो भयो। त्यसपछिका केही वर्षसम्म उनले आफूमाथिको बलात्कारको घटना भुल्ने निकै कोसिस गरिन्। तर सकिनन्। आफ्नो दुःख भुलाउन आफ्नो गोप्य कुरा उनले स्कुलका केही साथीसँग बाँडिन्। तीमध्ये एकजना साथीले टावाटा १६ वर्ष पुग्दा यो कुरा उनकी आमालाई बताइदिइन्। यसअघि नै टावाटाका अभिभावकले फाव्रिसियो बालयौन दुराचारी भएको र उनले धेरै बालिकाहरूलाई यौन शोषण गरिसकेको थाहा पाइसकेका थिएँ।

आफू प्रताडित भएको सात वर्षपछि उनले यसबारे प्रहरीलाई बताइन्। त्यसको छ वर्षपछि ल डिग्री सकाएर टावाटा आफैं प्रहरी अधिकारी बन्न तालिम लिइरहँदा पनि त्यो मुद्दा वकिलको कार्यालयमै त्यसै थन्किरहेको थियो। प्रमाणको अभावमा उनी विरुद्ध कारबाही बढ्न नसकेको बताइयो। त्यसैले अन्य पीडित बालिकाहरूको परिवारको सम्पर्कमा टावाटा पुगिन्।

अन्ततः मुद्दा चलाइयो। फाव्रिसियोले टावाटाले आफ्नो पिताको बदला लिन मनगढन्ते कहानी रचेको बताए। उनलाई साढे सात वर्ष लामो काराबास सजाय सुनाइयो। तर उनको अपील मुल्तवीमा राखिएकाले उनी थुनिएनन्। आखिर २०१६ को डिसेम्बरमा फाव्रिसियोको अपिल रद्ध भयो। नदी किनारको एउटा विकट स्थानमा लुकिरहेका उनलाई वास्तवमा टावाटाका सहकर्मी प्रहरीले गिरफ्तार गरे। तर झ्यालखानामा फाव्रिसियोलाई थुन्ने काम भने टावाटा आफैंले गरिन्। उनलाई ठूलो राहत महशुस् भयो।

तर यौन उत्पीडनका कारण उनलाई आफ्नै शरीरदेखि लाज लाग्ने, यौनमाथि नकारात्मक भावना जाग्ने जस्ता मानसिक प्रभाव परेका छन्। टावाटाले अन्य बालिकाहरू पनि यस्तो कार्यको शिकार नहोऊन् भन्ने हिसाबले भेटेका अभिभावकहरूलाई सम्भावित खतराबाट सचेत गराउने गर्छिन्।’

उनको विचारमा यस्तो मामिलामा पीडितको कुनै दोष हुन्न बस तिनीहरू दुर्भाग्यवश विकृत मानसिकताका व्यक्तिहरूको शिकार बन्न पुग्छन्। तर दुःखको कुरा एक वर्ष कैद भुक्तान गर्ना साथ फाव्रिसियोलाई बँँकी सजाय मिनाहा गरियो।

प्रतिक्रिया दिनुहोस्