आर्सेनलको जितमा ओजीलको गोल



लन्डन, (एजेन्सी)
रुसमा सम्पन्न विश्वकपमा जर्मनी पहिलो चरणबाटै बाहिरिएपछि मेसुट ओजिलको लागि दिन रात भयानक भएको थियो । उनलाई जर्मनी टिम र समर्थकले बलिको बोको बनाएपछि ओजिलले जर्मनीको जर्सी कहिल्यै नलगाउने भन्दै गत आइतबार संन्यास लिए ।

तर शनिबारको दिन भने उनको लागि सुखद रह्यो । आर्सेनलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ५–१ गोलअन्तरले हराउँदा ओजिलले एक गोल गरे ।

प्रिमियर लिग क्लब आर्सेनलको जितमा वैकल्पिक खेलाडी एलेक्सान्डर लाकाजेटले दुई गोल गरे भने रोब होल्डिङ र एडी नकेटीहाले एक—एक गोल गरेका थिए । पीएसजीका लागि क्रिस्टोफर नकुन्कुले एक गोल पेनाल्टीमार्फत् फर्काएका थिए । सीड कोलासीनाकले टिमोथी वेहलाई लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

आर्सेनलका नयाँ मेनेजर उनाई एमेरीले यस सिजनको लागि उनको टिममा पाँच कप्तान चाहेको बताएका छन् । उनले मिडफिल्डर ओजीललाई यसै चाहना अनुरुप आर्मब्यान्ड लगाउन दिए । ओजील टर्कीसँग सम्बन्ध भएकोले रंगभेद र अपमान सहनु परेकोले एमेरीले ओजीलको आत्मविश्वास बढाउन यो खेलले सहयोग गर्ने विश्वास लिएका थिए।

तर यो सिंगापुरमा भएको मैत्री खेल इटालीका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोनका लागि खराब बन्यो । युभेन्टसबाट यस समरका लागि पीएसजी आबद्ध भएका बुफोनले पाँच गोलको सामना गर्नुप¥यो। आर्सेनलले सिजन अगाडिको यात्रामा लन्डनकै प्रतिद्वन्द्वी चेल्सीसँग बुधबार डबलिनमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्