रसुवागढी जलविद्युत आयोजनाले जगाएको आशा



मधुसुदन रायमाझी, रसुवा

रसुवा उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला हो । तिब्बतबाट बगेर आउने ठूला नदीको कारण रसुवा जलस्रोतमा धनी मानिन्छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले चिनिन्छ । त्रिशूली नदी कोरिडोरको जलस्रोत उपयोग गरी २ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

भोट अर्थात् तिब्बत (चाइना) बाट छुट्टिने बित्तिकै करिब ४ सय मिटर तल रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना । आयोजना रसुवाबासीको लागि मात्र नभई समग्र देशको आर्थिक विकाससँग जोडिएको छ ।

राजधानी काठमाडौंबाट १ सय ५० किलोमिटर उत्तरमा अवस्थित यस आयोजनाका सबै संरचना रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित थुमनमा निर्माण भइरहेको छ । रसुवागढी हाइड्रो पावर चिलिमे जलविद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरबाट प्रवद्र्धित कम्पनी हो । चिलिमेले २०६० सालमा रसुवामा पहिलो पटक २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना निर्माण गरेको थियो ।

नयाँ आयोजना पहिचान गर्न चिलिमेका कर्मचारी २०६३ सालमा पैदल हिँडेर धेरै पटक रसुवागढी पुगेका थिए । सोही क्रममा आयोजना पहिचानको क्रममा तिब्बतबाट केरुङ–रसुवागढी सडक खोल्न सुरु भएको थियो । रसुवागढीलाई चीनसँगको प्रमुख व्यापारिक नाका बनाउन बाटो खन्ने चिनियाँ उपकरण नाका छेउ ल्याइएको थियो । यसै सन्दर्भमा नेपालतर्फ पनि रसुवागढी–स्याफ्रुबेँसी सडक खोल्ने योजना थियो । यही सम्भावनालाई मध्यनजर गरी आयोजनाको पहिचान गरिएको हो ।

 

राजधानी नजिक, पहुँचमार्ग बनाउनु नपर्ने तथा बाँधदेखि विद्युतगृहसम्म छोटो दूरी भएकाले आयोजना आकर्षक देखियो । नजिकै लाङटाङ राष्ट्रिय निकुञ्जमा कुनै संरचना नपर्ने तथा स्थानीयको निजी जग्गा थोरैमात्र पर्ने हुँदा पनि आयोजना वातावरणमैत्री देखिएकै कारण २०६५ साल असार ३१ गते विद्युत विकास विभागबाट अध्ययन अनुमतिपत्र लिई अध्ययन सुरु भएको थियो ।

सुरुमा आयोजनाको क्षमता ७५ मेगावाट पहिचान गरिएको थियो । तर, विस्तृत अध्ययनले १ सय ११ मेगावाटमा निर्माण गर्न सकिने सम्भावना देखाएको थियो । चिलिमेले अध्ययन गरेको आयोजना सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न २०६८ साल साउन १७ गते रसुवागढी हाइड्रो पावर कम्पनी स्थापना भएको थियो ।

 

कम्पनी स्थापनासँगै २०६८ साल कात्तिक २८ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद(विक्री सम्झौता (पिपिए) गरी मंसिर २२ गते ऋण लगानी सम्झौता भयो । आयोजना निर्माण गर्न चिलिमे, रसुवागढी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋणसम्झौता भएको छ । लगानी जुटाएर २०६९ सालबाट आयोजना निर्माण प्रक्रिया सुरु भएको हो ।

 

रसुवागढी जलविद्युत आयोजनाको निर्माण गर्न ३ लटमा ठेक्का दिइएको छ । लट १ अन्तर्गत चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्ल्यु) लाई सिभिल तथा हाइड्रोमेकानिकल वक्र्सको जिम्मा दिइएको छ भने लट–२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडानको काम भारतको भ्वाइट हाइड्रो प्राईभेट लिमिटेडले पाएको छ ।

लट–३ अन्तर्गत विद्युतगृहदेखि चिलिमे हबसम्म आवश्यक करिब १० किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण रहेको छ । यसको काम नेपालकै मुडभरी एण्ड जोशी कम्पनीले पाएको छ । अहिले ३ वटै ठेकेदारले धमाधम काम गरिरहेका छन् ।
रसुवागढी भोटेकाशी नदीको बहाबमा आधारित (रन अफ रिभर) प्रकृतिको आयोजना हो । आयोजनाको मुख्य सुरुङ, पानी थिग्रयाउने पोखरी, सर्ज ट्याङ्क, पेनस्टक, विद्युतगृह तथा टेलरेस सुरुङलगायत ९० प्रतिशत संरचना भूमिगत छन् । तीव्र गतिमा निर्माण भइरहेको आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको आयोजनाले बताएको छ ।

 

भोटेकोसी नदीमा ६१.५ मिटर लम्बाई तथा ८.५ मिटर उचाईको बाँध निर्माण गरी पानी फर्काएर विद्युतगृहमा पठाउने गरी आयोजना डिजाइन गरिएको छ । यस आयोजनाको ग्रस हेड १६७.९ मिटर छ । यसको बाँध क्षेत्रमा ३ वटा इन्टेक गेट राखिएको छ । इन्टेकसँगै जोडेर बनाइएका इन्टेक टनेल पश्चात ३ वटा १ सय २५ मिटर लम्बाई, १५ मिटर चौडाई र २३ मिटर उचाईको बालुवा थिग्राउने भूमिगत पोखरी (डिसेन्डर) निर्माण भइरहेको छ ।

डिसेन्डरमा सेडिमेन्ट थिग्रिएपछिको सफा पानी विद्युतगृहमा पठाउन ७ मिटर व्यास तथा ४ हजार १ सय ८५ मिटर लामो मुख्य सुरुङ निर्माणाधीन छ । मुख्य सुरुङको अहिले ८९ प्रतिशत अर्थात ३ हजार ७ सय १४ मिटर निर्माण पूरा भएको छ । पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिर खन्न सुरु गरिएको १ हजार ८ सय ८२ मिटर सुरुङ गत वैशाख ६ गते ब्रेक थ्रु भएको छ । दोस्रो अडिट सुरुङबाट तल तथा तेस्रोबाट माथितिर खन्न सुरु गरिएको २ हजार ३ सय ३ मिटरमध्ये १ हजार ८ सय ३२ मिटर पूरा भएको छ । अब करिब ४७१ मिटर सुरुङमात्रै खन्न बाँकी छ । अबको ३ महिनाभित्र सुरुङ छेडिने गरी काम भइरहेको छ ।

मुख्य सुरुङ पेनस्टकसँग जोड्ने स्थानमा १६ मिटर बृत्ताकार र ६१.५ मिटर उचाईएको भुमिगत सर्ज ट्यांक निर्माण भइरहेको छ । मुख्य सुरुङ भएर जाने पानीलाई विद्युतगृहसम्म पुया¥उन १ सय ३३ मिटर लामो भूमिगत पेनस्टक ठाडो सुरुङ तथा २२७.६० मिटर लामो होरिजेन्टल पेनस्टक सुरुङ निर्माणाधीन छ ।

७६ मिटर लामो, १५ मिटर चौडा तथा ३५ मिटर गहिराइको भूमिगत विद्युतगृहको निर्माण पनि धमाधम भइरहेको छ । अहिले दोस्रो र तेस्रो युनिट राखिने स्थानमा ढलानको काम भइरहेको छ । सिभिल ठेकेदारले दोस्रो र तेस्रो युनिटको काम पूरा गरेर इलेक्ट्रो(मेकानिकल ठेकेदारलाई जिम्मा लगाएपछि पहिलो युनिटको काम सुरु गर्नेछ । हरेक युनिटमा ३८.५० मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन र ३ फेजका ३ वटा ४३.७५ एम.भि.ए. क्षमताका जेनेरेटर राखेर १ सय ११ मेगावाट विद्युत उत्पादन गरिनेछ ।


विद्युत उत्पादनपछि विद्युतगृहबाट निस्कने पानीलाई पुनःभोटेकोसी नदीमा फर्काउन निर्माण भइरहेको ६ सय ५ मिटर लामो टेलरेस सुरुङमध्ये ४ सय १३ मिटर पूरा भएको छ ।
उत्पादित विद्युत विद्युतगृहबाट १० किलोमिटर १३२ के.भी. प्रशारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे हबसम्मका उक्त प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैंले निर्माण गर्दैछ ।

आधारभूत संरचना तयार भएपछि २०७० साल माघ २३ गतेबाट आयोजनाको औपचारिक निर्माण सुरु भएको थियो । सुरु अवधीमा बिना अवरोध निर्माणले गति लिइरहेको थियो । विद्युत उत्पादन गर्ने तालिका २०७४ साउनलाई तय गरिए पनि तालिकाभन्दा अगाडी नै पूरा गर्ने लक्ष्यसहित कम्पनी तथा आयोजनाका ठेकेदारले निर्माण कार्यलाई तीव्रता दिएका थिए । तर २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पको कारणले गर्दा लक्ष्य अनुसारको काम हुन सकेन ।

भूमिगत संरचना सुरक्षित भए पनि बाँध क्षेत्र तथा सुरुङ प्रवेश मार्गको सतही भागमा ठूलो क्षति पुग्यो । आयोजना निर्माणको क्रममा भुकम्पमा परी २ चिनियाँ मजदुरको ज्यान गएको थियो । भुकम्पपछि पनि निरन्तर पराकम्प जाने र पहिरो खस्ने क्रम नरोकिदा पनि काम अगाडि बढन सकेन ।

 

यसबीचमा कम्पनीले ठेकेदारसँग पटक–पटक बैठक तथा छलफल गरेर आयोजनाको काम सुरु गर्ने सहमति गरेर काम अगाडि बढाउन सफल भयो । ठेकेदारले काम अगाडि बढाए पनि भारतीय नाकाबन्दीको कारण निर्माण सामाग्रीको आयात हुन नसक्दा चार महिनासम्म काम अगाडि बढन सकेन ।

कम्पनीको करिब १ वर्ष लामो प्रयास तथा पटक पटकको छलफलपछि ठेकेदारलाई आयोजनामा पुनःपरिचालन गराउने सहमतिको साथ ठेकेदार कम्पनीले काम अगाडि बढायो । २०७३ सालको वर्षायामको भीषण वर्षापछि निरन्तर खसेको पहिरोले पुनः आयोजना निर्माणको काम पुन रोकियो । आयोजना क्षेत्र र क्याम्प तथा स्याफ्रुवेसीं(रसुवागढी सडक समेत असुरक्षित हुन थालेपछि झन झन समस्या थपिदै गयो । जसलाई कारण देखाएर चिनियाँ ठेकेदारले फेरि काम रोक्ने निष्कर्षमा पुग्यो ।

पटक पटकको वार्ता विफल भएपछि कम्पनीले २०७३ कात्तिक १२ गते सिडब्ल्युईलाई उसँगको ठेक्का सम्झौता रद्ध गर्ने आशयको पत्र पठायो । कम्पनीको पत्रले सिडब्ल्युईको मुख्यालयसम्म उच्च तहमा ठूलो तरंग पैदा ग¥यो । ठेक्का सम्झौता रद्ध हुँदा अन्तराष्ट्रिय स्तरमा बदनाम हुने डरले सिडब्ल्युई गम्भीर बन्यो र पुनः आयोजनाको काम सुरु गर्न तयार भएको थियो ।

कम्पनीको निरन्तरको प्रयासपछि २०७२ वैशाख १२ देखि ब्रेक लागेको आयोजना २०७३ मंसिर १८ गतेबाट सिडब्ल्युइले पुनः सुचारु ग¥यो । भूकम्प, नाकाबन्दी र पहिरोको मारले थलिएको आयोजनाको कामले पुनः गति लियो । ठेकेदारलाई फर्काएर पुनः आयोजना सुचारु गराउन कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइराला र कम्पनीको संचालक समितिको भूमिका खेलेकै कारण विभिन्न अवरोध पन्छाउदै काम अगाडि बढन सकेको हो ।


आयोजनामा कुनै प्रकारको बाधा व्यवधान नआउने हो भने २०७६ पुसमा पहिलो, माघमा दोस्रो र फागुन ७ भित्र तेस्रो युनिटबाट विद्युत उत्पादन सुरु हुने गतिमा आयोजना अघि बढेको छ । प्राकृतिक प्रकोप तथा विदेशी मुद्राको तुलनामा नेपाली मुद्रामा भएको अवमुल्यनका कारण आयोजनाको लागत सुरुमा अनुमान गरेभन्दा केही बढ्ने देखिएको छ ।

आयोजनामा ५० प्रतिशत ऋण तथा ५० प्रतिशत स्वपुँजी लगानीको व्यवस्था रहेको छ । ऋण लगानीको जिम्मा सञ्चय कोषले लिएको छ । आयोजना पूरा गर्न २०६८ साल मंसिर २२ गते चिलिमे, रसुवागढी र कोषबीच ऋण लगानी सम्झौता भएको थियो ।

कम्पनीमा विद्युत प्राधिकरणको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत र रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक शेयर र कर्मचारी संचय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत, संस्थापक संस्थाका कर्मचारीको ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत रसुवाका स्थानीयको १० तथा सर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत सर्वसाधारण शेयर रहने प्रावधान रहेको छ ।

नेपाल–चीन जोड्ने व्यापारिक नाकामा ठूला मालबाहक ट्रकको चाप बढ्दा आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । सवारी साधनको बढ्दो भीड र साँघुरो सडकका कारण समयमा निर्माण सामाग्री पु¥यान नसक्दा बेलाबेलामा आयोजनाको काम रोक्नु पर्ने बाध्यता छ ।

आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीले प्रत्यक्ष प्रभावित आयोजना क्षेत्रको पूर्वाधार विकासमा पनि विशेष ध्यान दिएको छ । स्थानीय क्षेत्रको पूर्वाधार विकासमा आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख भए भन्दा धेरै काम भएका छन् । फोहोर व्यवस्थापन, धार्मिक स्थलको संरक्षण, ग्रामीण विद्युतीकरण, सडक तथा गुम्बाको निर्माणमा कम्पनीले आर्थिक तथा प्राविधिकरुपले सहयोग गर्दै आएको छ ।

यस्तै, स्थानीय विद्यालयमा शिक्षक व्यवस्थापन, कम्प्युटर वितरण, स्वास्थ्य चौकीमा नर्सहरुको व्यवस्था, तालिमको व्यवस्था गर्नुका साथै पहिरोको उच्च जोखिम भएका ठाउँमा तारजाली लगाएर रोकथाम गरिएको छ । यतिमात्रै नभई आयोजनाको निर्माण सुरु भएयता धैरै स्थानीयले यहाँ प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

पछिल्लो निर्माण तालिका अनुसार अबको १९ महिनामा रसुवागढीबाट १ सय ११ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय विद्युत प्रशारण प्रणालीमा थपिँदैछ । यसले भारतबाट आयात हुने विद्युत परिमाण घटाउन ठूलो मद्दत पु¥याउनेछ । आन्तरिक उत्पादन बढ्दा उपभोक्ताले पनि गुणस्तरीय विद्युत उपभोग गर्न पाउनेछन् । लक्ष्यभित्र आयोजना पूरा गर्न कम्पनी तथा आयोजना व्यवस्थापन पक्षले दिन रात मिहिनेत गरिरहेका छन् । उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि राष्ट्रकै लागि फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्