रुसका एक खेलाडीको भाग्य चम्क्यो



लन्डन, (एजेन्सी)
विश्वकपमा सानदार प्रदर्शन गरेपछि केही रुसी खेलाडीले विश्वका चर्चित क्लबहरुमा खेल्ने मौका पाउने आशा गरिएको थियो । एलेक्सान्डर गोलोभिन, चेरिसेभ जस्ता खेलाडीलाई रुसबाहिर खेल्न मौका पाउनु पर्छ भन्ने रुसका प्रशिक्षकले बताएका थिए । यस्तैमा एक खेलाडी एलेक्सान्डर गोलोभिनको भाग्य चम्केको छ । फ्रेन्च क्लब मोनाकोले २ करोड ७० लाख पाउन्डमा ५ वर्षको लागि आबद्ध गरेपछि गोलोभिनले रुसबाहिर खेल्न पाउने भए । उनलाई प्रिमियर लिग क्लब चेल्सी र आर्सेनलले पनि चासो लिएका थिए । तर उनलाई आबद्ध गराउने होडमा मोनाकोले बाजी मार्यो ।

रुसले पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदा गोलोभिनको भुमिका मुख्य रह्यो । यहीबाट नै उनीमाथि मोनाको, चेल्सी र आर्सेनलले भित्र्याउन प्रयास गरिरहेका थिए । २२ वर्षीय मिडफिल्डरको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन भएको मोनाकोले जनाएको छ ।
क्लबले गोलोभिनले नयाँ लुगा लगाएको भिडियो पनि रिलिज गरेको छ । उनले १७ अंक अंकित जर्सी लगाउनेछन् । भिडियोमा गोलोभिनले खुशी हुँदै बताएका छन्—यो मेरो लागि नयाँ साहसिक चुनौती हो । अहिले म नयाँ टिम साथीहरु र स्टाफसँग भेट्न प्रतिक्षारतमा छु ।

प्रतिक्रिया दिनुहोस्