जानीजानी आगो लगाएको हुन सक्ने सरकारको आशंका, मर्नेको संख्या ८३



एथेन्स, (एजेन्सी)
ग्रिस सरकारले राजधानी एथेन्सनजिकै विनाशकारी आगलागी ‘जानीजानी’ लगाएको हुन सक्ने जनाएको छ।

नागरिक सुरक्षाका सहायक मन्त्री निकास टास्कासले आगलागीमा अपराधीहरूको संलग्नता रहेको गम्भीर प्रमाण फेला परेको बताएका छन्। प्रहरीले आगो लाग्नुका कारणहरुको जाँच थालेको छ। यसअघि ग्रिसका रक्षामन्त्रीले बिनाअनुमति बनेका घरहरुले उद्धारकर्मीलाई प्रभावित इलाकाबाट नागरिकलाई निकाल्ने मार्ग रोकेको बताएका थिए।

अर्कोतर्फ आगलागीबाट प्रभावितलाई समयमै सहयोग उपलब्ध नगराएकोमा अधिकारीमाथि आरोप लगाइएका छन्। जंगल र त्यहाँनजिकका आवास क्षेत्रमा लागेको आगोका कारण अहिलेसम्म कम्तीमा ८३ जना मारिएको पुष्टि भएको छ र कयौं अहिले पनि बेपत्ता छन्।
६० जना अस्पतालमा भर्ना गरिएका मध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ। यस आगलागीले अर्बौ डलर बराबरको सम्पत्ति नोक्सान भएको बताइएको छ।

ग्रिसको राजधानी एथेन्सनजिकै गत सोमबारदेखि आगलागी शुरू भएको थियो। उक्त आगो तीव्ररूपमा वरिपरिका क्षेत्र तथा तटीय इलाकामा फैलिएको थियो।

धेरैले समुद्रमा हामफालेर ज्यान जोगाएका थिए। तर सबै भने त्यति भाग्यशाली रहेनन्। नागरिक सुरक्षा मन्त्रीले उक्त विनाशकारी आगो लाग्नु केही घण्टा अगाडि नै एथेन्सनजिकै जानीजानी अर्को आगो लगाएको बताएका थिए। तर त्यसलाई समय मै निभाइएको थियो। त्यसबाट कसैको पनि ज्यान गएको थिएन।

आगलागीबाट प्रभावित क्षेत्रमा जलवायु परिवर्तनका कारण वातावरणको स्थिति अत्यन्त खतरनाक रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्