मेवेदर सर्वाधिक कमाउने सेलिबे्रटी



कविरस शर्मा,
गत साता विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोब्र्सले जारी गरेको सर्वाधिक कमाउने सेलेब्रिटी सूचीको शीर्ष स्थानमा व्यावसायिक अमेरिकी बक्सिङ सुपरस्टार फ्लोयड मेवेदर रहेका छन्। १ सय ४७ पाउन्ड वजनका ४१ वर्षीय मेवेदर आफ्नो चर्चित मुक्काका कारण जति चर्चित छन्, त्योभन्दा कयौं गुणा बढी सम्पत्ति आर्जन गरेर सेलिब्रिटी सूचीको शीर्ष स्थान ओगट्न सफल भएका छन्।

कुल २ सय ८५ मिलियन अमेरिकी डलर आम्दानी गरेर उनी फोब्र्सले जारी गरेको सन् २०१८ को उक्त सूचीमा शीर्ष स्थानमा रहन सफल भएका हुन्। यस क्रममा उनले जर्ज क्लोने, किली जेनर र द रक उपनामबाट चर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वाइने जोन्सन जस्ता सेलिब्रिटीलाई उछिन्न सफल भएका हुन्।

यस क्रममा उनले अस्कर अवार्ड विजेता तथा ताजा काउन्ट डाउनको सर्वाधिक धनी अभिनेता जर्ज क्लुनेलाई ५० मिलियन डलरले पछाडि पारेका हुन्। कुल आम्दानीको २ सय ७५ मिलियन अमेरिकी डलर त उनले गत वर्ष यूएफसी स्टार कोनोर मेकग्रेगोरसँग भएको आफ्नो ५०औं फाइटबाट मात्र आम्दानी गरेका हुन्।

‘पे पर भ्यु’ को आधारमा उक्त फाइटलाई दोस्रो सर्वाधिक चर्चित फाइटसमेत मानिएको छ। लस भेगासमा भएको उक्त फाइटमार्फत ५ सय ५० मिलियन डलर बराबरको कारोबार भएको थियो।

जसमा उनले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनसमेत सफल भए। उक्त फाइटमा पराजित भएका आइरिस मिक्स्ड मार्सल आट्र्सका च्याम्पियन कोनोर मेकग्रेगोर भने यस सूचीको १२औं स्थानमा रहेका छन्। यस्तै १३औं स्थानमा भने गत सिजन बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा कीर्तिमानी रकम २ सय ६३ मिलियन अमेरिकी डलरमा स्थानान्तरण भएका ब्राजिलियन चर्चित फुटबलर नेयमार छन्।

मेवेदरसँगै उक्त सूचीको शीर्ष १० भित्र अन्य ३ जना खेलकर्मीले आफ्नो नाम लेखाउन सफल भएका छन्। सूचीको चौथो स्थानमा ‘द रक’ उपनामबाट चर्चित वयवसायिक रेस्लर तथा हलिउड अभिनेता ड्वाइने जोन्सन छन्। यस्तै आठौं स्थानमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनेल मेसी र दसौं स्थानमा हालसालै रियल मेड्रिडबाट इटालियन क्लब युभेन्टस स्थानान्तरण भएका पोर्चुगिज फुटबलस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्।

‘द रक’ ड्वाइने जोन्सनले १ सय २४ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्। तर, गत २ वर्षको आँकडालाई हेर्ने हो भने उनको स्थानमा गिरावट आएको छ। सन् २०१६ मा यस सूचीको पहिलो स्थान ओगटेका उनी सन् २०१७ मा दोस्रो स्थानमा धकेलिएका थिए।

तर, यसपटक चौथो स्थानमा पुगे पनि उनी सन्तुष्ट नै रहेको ट्विट गरे। उनले भने– ‘मसँग हार्वर्ड युनिभर्सिटीको एमबीए डिग्री छैन। रेस्लिङ खेल्दा होस् वा सिनेमामा काम गर्दा, पब्लिकलाई रिझाउनु नै मेरो एउटै मात्र व्यवसाय हो। म त्यही मान्छे हुँ जसले भोकलाई मेटाउन ७ बक्स (डलर) का लागि काम गर्थें। तर, अहिले १ सय २४ मिलियन कमाएको छु।’ अमेरिकी फुटबलबाट खेल करियरको थालनी गरेका जोन्सनले त्यसपछि व्यावसायिक रेस्लिङ डब्लूडब्लूईमा आफूलाई समर्पित गरेका थिए।

हलिउड फिल्मी जगत्मा उनी छाएका छन्। गत वर्ष फेट अफ फ्युरियोस, जुमान्जी, वेलकम टु द जंगल र बेवाच जस्ता हिट फिल्म दिएका उनको यो वर्ष रामपेज र स्काइस्क्रेपर हिट भइसकेका छन्।

भर्खरै सम्पन्न फिफा विश्वकपको अन्तिम १६ बाटै बिदा भएका फुटबलका दुई हस्ती हुन् लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो। सर्वाधिक कमाउने सेलेब्रिटी सूचीको आठौं स्थान ओगटेका मेसीले १ सय ११ मिलियन र दसौं स्थानका रोनाल्डोले १ सय ८ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्।

यी दुईको आम्दानीको प्रमुख स्रोतका रूपमा क्लबको पारिश्रमिकसहित प्रायोजकहरू हर्बालाइफ, नाइकी, एडिडास, अरमानी इत्यादि जस्ता प्रमुख ब्रान्ड इन्डोर्समेन्टसँग सम्झौतालाई आधार मानिएको छ।

फोब्र्सले नेल्सन, पोलस्टार, आईएमडीबी, साउन्डस्क्यान, एनपीडी बुकस्क्यान, कमस्कोरलगायत विभिन्न उद्योगका व्यवसायी तथा विशेषज्ञसँग लिइएको अन्तरवार्ताको आधारमा यो सूची तयार पारेको हो। यसमा सन् २०१७ को जुन १ देखि २०१८ को जुन १ सम्म आर्जन गरिएको आम्दानीलाई मात्र जोडिएको छ। जसमा सेलिब्रेटीले आफ्नो आम्दानीबाट तिर्नुपर्ने राजस्व, वकिल खर्च र एजेन्टलाई दिनुपूर्वको रकमलाई आधार मानिएको हो।

प्रतिक्रिया दिनुहोस्