प्रतिवन्धित धार्मिक समुहका छ सदस्यलाई मृत्युदण्ड



टोक्यो, ( एजेन्सी )
जापानको राजधानी टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्षित गर्दै सन् १९९० मा विषाक्त सरिन ग्यास लगायत अन्य शृंखलाबद्ध अपराधमा दोषी ठहर गरिएका मध्ये थप ६ जनालाई बिहीबार मृत्युदण्ड दिइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यसै काण्डमा संलग्न १३ जना मध्ये सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए ।
उक्त सरिन ग्यास आक्रमण गराउने संदिग्ध धार्मिक समुह ओम सिन्रिक्योका नेता शोको आशाहारालाई पनि फाँसी दिइसकेको छ ।

जापान सरकारद्वारा प्रतिवन्धित यो समूहमा कुनैबेला जापानमा करिव १० हजार र रुसमा ३० हजारजना अनुयायी रहेको दाबी गरिएको थियो । तिनीहरुले यात्रुहरुले भरिभराउ भूमीगत रेल जापानको मुख्य सरकारी जिल्लास्थित कासुमीगासेकी रेल्वे स्टेशन पुग्नै लाग्दा स्नायू प्रणाली प्रभाबित पार्ने सरिन ग्यास आक्रमण गरेका थिए । हिजो मृत्युदण्ड दिइएका ६ जनामध्ये चार जना रेलभित्रको उक्त सरिन ग्यास आक्रमणमा प्रत्यक्ष संलग्न रहेका थिए ।

जापानको तत्कालीन सरकारलाई अपदस्थ गरी क्रान्तिकारी परिस्थिति सिर्जना गर्ने परिकल्पना सहित यस शोको आशाहारा समूहले रासायनिक, जैविक र अन्य परम्परागत हातहतियार भण्डार गरेको थियो ।

न्यायमन्त्री योको कामीकावाल जापानमा एकै महिना भित्रै यतिधेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना भएको जानकारी दिँदै यस्तो अक्षम्य अपराध नदोहरियोस भनी कामना गरेका छन् । विषाक्त ग्यास आक्रमणबाट कम्तीमा छ हजार व्यक्ति नराम्ररी बिरामी परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्