दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु



बेरुत ।
दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।

यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताउनुयो ।

सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । “आक्रमणबाट सरकार समर्थक लडाकूहरुको पनि ज्यान गएको र ठूलो संख्यामा आमनागरिक घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने देखिएको छ,” रहमानले भन्नुभयो ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट ३ लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मक रुपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो ।

सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।

विश्वका महाशक्ति राष्ट्रहरु संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरु र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो ।

गृहयुद्धको चपेटामा परेर लाखांैको सङ्ख्यामा मानिसहरु घाइते हुनुका साथै लाखांै सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्