जापानमा गर्मीका कारण ६५ जनाको मृत्यु, २२ हजार भन्दा बढी अस्पताल भर्ना



राजबिन थापा, जापान ।
जापानमा अत्यधिक गर्मीका कारण ६५ जनाको मृत्यु भएको छ । मृत्यु भएका ६५ जनामध्ये एक ६ वर्षीय बालकसमेत रहेका छन् ।

उनी विद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको थियो । साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना भएका प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ ।

मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । एजेन्सीले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएको छ ।

यद्यपी प्रकोप नियन्त्रण विभागका अनुसार जुलाइदेखि जापानमा तातो हावाको कारण ८० व्यक्तिको मृत्यु हुनुको साथै ३५ हजार उपचारार्थ अस्पताल भर्ना भएका छन् । केही दिनयता यहाँको तापक्रम अनायासै बढेपछि त्यहाँका सरकारले आफ्नो जनतालाई अनावश्करुपमा घाममा ननिस्कन सूचना जारी गरेको जनाएको छ ।

सोमबार टोक्योको बाहिरी इलाकामा रहेको कुमागाया शहरको सैतामा क्षेत्रमा ४१.१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रेकर्ड गरिएको छ ।

यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्कमा रहेको जनाएको छ । यसैबीच क्योतो सहरमा लगातार एक हप्ता बढी समययता ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।

जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ । जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ । त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ । अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालय बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।

जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो । उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।

यसलाई कतिपय मौसमविद्ले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीले भने केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्