उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्र नस्ट गरे



सोल (एजेन्सी)
उत्तर कोरियाले आफनो प्रमुख रकेट प्रक्षेपण केन्द्र नष्ट गर्ने काम थालेको छ । यो केन्द्र देशेको उत्तर पश्चिम इलाकामा पर्छ ।

अमेरिकाको निगरानी समुहले सुर्हे स्टेसनलाई ध्वस्त गरेको स्याटलाइट तस्वीर प्राप्त गरेका छन् । समुहका अनुसार किम जोंग उनले अमेरिकासँग जुनमा गरेको प्रतिबद्धता निभाइरहेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले इन्जिन परिक्षण केन्द्र नष्ट गर्ने प्रतिबद्धता ब्यक्त गरेको राष्टपति डोनाल्ड ट्रम्पले बताएका थिए । यद्यपी उनले त्यो केन्द्र कुन हो भन्ने विषयमा बताएका थिएनन् ।

उत्तर कोरियाले सुर्हे एक उपग्रह प्रक्षेपण गर्ने केन्द्र भएको बताउँदै आइरहेको थियो । यद्यपी अमेरिकी अधिकारीले उक्त केन्द्र ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षणका लागि प्रयोग भइरहेका आसंका गरेका थिए ।

गत महिना अमेरिकाका राष्टपति र किमबीच भएको ऐतिहासिक वार्तामा दुई नेताहरुले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त गर्नका लागि सँगै मिलेर काम गर्ने सम्झौता गरेका थिए ।

तर सम्झौतामा प्योङयाङले कसरी र कहिले परमाणु हतियार नस्ट गर्छ भन्ने उल्लेख गरेको थिएन । यो जानकारीको अभावका कारण सम्झौताको आलोचना पनि भएको थियो ।

यसअघि सोमबार राष्टपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा आएको प्रगतिलाई लिएर आफु अत्यन्त खुसी रहेको बताएका थिए । उत्तर कोरियाले विगत नौ महिनामा कुनै पनि क्षेप्यास्त्र प्रहार नगरेको र कुनै पनि परमाणु परीक्षण नगरेको सोमबा उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्