भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह



हवाना ।
क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गर्नुभएको छ ।

संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको या प्रहरीको मात्र काम होइन भन्दै सबै देशवासीले नै यसमा सहयोग गरेमा मात्र देशमा सुशासन र भ्रष्ट्राचारमुक्त समाज निर्माण सम्भव रहेकोमा जोड दिनुभएको हो ।

उहाँले समाजमा अपराधका घटनामा भएको बृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पु¥याउन पनि सबैलाई आग्रह गर्नुभएको थियो ।

यस्ता समाजका बेथितीहरुमा नागरिक एकता भएमा मात्र शान्ति, सुव्यवस्था र सुशासनका लागि सहज हुने धारणा पनि उहाँले राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

क्युबामा केही वर्षहरुदेखि भ्रष्ट्राचार एक जटिल समस्याको रुपमा देखिएको चर्चा गर्ने गरिएको छ ।

कतिपय अधिकारीहरुले त भ्रष्ट्राचारका कारणले नै देशमा आर्थिक तथा वित्तीय समस्या उत्पन्न भएको बताउने गरेका छन् ।

त्यसैले भ्रष्ट्राचारलाई देश विकासको एक प्रमुख बाधकका साथै समाजमा अशान्ति र अस्थिरता उत्पन्न गर्ने तत्वका रुपमा लिएर सबैजना मिलेर भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

यहाँको महालेखा परीक्षकसम्बन्धी गतवर्षको एक प्रतिवेदनले दिए अनुसार गतवर्ष मात्र यहाँका करिब ३६१ ओटा सरकारी निकायमा आर्थिक अनियमितता भएको पाइएको थियो ।

त्यस अनियमितताबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको पनि उक्त कार्यालयको पछिल्लो प्रतिवेदनमा रहेको छ ।

यी अनियमितताहरुका कारण त्यसमा संलग्नताको आशंकमा १२ सय भन्दा बढी सरकारी कर्मचारीमाथि प्रश्न पनि गरिएको छ । उनीहरु निलम्बनमा परेका बताइएको थियो ।

क्युबा सरकारले सन् २००९ मा यो कार्यालय स्थापना गरेर भ्रष्टाचार विरोधी क्रियाकलापहरुको अनुसन्धान थालेको थियो ।

सरकारले त्यसपछि भ्रष्टाचार गर्ने कर्मचारीका विरुद्धमा कडा कारबाही गर्ने कानुन पनि बनाएको छ । सो कानुनबमोजिम कैयौँ कर्मचारी भ्रष्टाचारको कारबाहीमा पनि परेका छन् ।

राष्ट्रपति क्यानेलले भ्रष्टाचारका विरुद्धमा कडा कदम चालिने र यसमा संलग्न हुनेलाई कदापि नछोडिने भनाई पटक पटक राख्दै आउनुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्