विकिलिक्स संस्थापक असान्जलाई दुताबासबाट निकाल्न सक्ने



लन्डन (एजेन्सी)
विकिलिक्सका विवादास्पद संस्थापक जुलियन असान्ज लन्डन स्थित इक्वेडरको दुताबासबाट छिट्टै निकालिन सक्ने र बेलायती अधिकारीहरुलाई हस्तान्तरण हुने एक समाचारमा उल्लेख गरिएको छ ।

इक्वेडरका राष्टपति लेनिन मोरिनो अजान्जको सरणार्थी दर्जा हटाउन बेलायत सरकारसँगको एक समहतिलाई अन्तिम रुप दिने तयारीमा रहेको छ । उक्त कुरा इक्वेडरको विदेश मन्त्रालय स्थित एक स्रोतलाई उदृत गर्दै इन्टरसेप्टस् ग्लन ग्रिनवाल्डले उल्लेख गरेको हो ।
सन् २०१२ देखि अजान्ज उक्त दुताबासमा बस्दै आइरहेका छन् ।

यौन दुब्र्यवहार तथा बलात्कारको आरोपका कारण स्विडेनबाट पलायन भएपछि उनी उक्त दुताबासको सरणमा पुगेका थिए । गत बर्ष नै अभियोजकहरुले उक्त मुद्दा फिर्ता लिइसकेको भएपनि दुतावास छोड्नका लागि दिएको जमानको सर्त तोडेकोमा उनलाई अझै गिरफ्तार गर्न सकिनेछ ।

विकिलिक्सको माध्यमबाट हजारौं गोप्य दस्तावेज प्रकाशित गरेकोमा अमेरिकामा उनले थप मुद्दाहरुको सामना गर्नु पर्ने हुनसक्छ ।

अमेरिकी गुप्तचर एजेन्सीहरुले सन् २०१६ को चुनावताका डेमोक्र्याटिक नेसनल कमिटीबाट चोरिएका इमेल सार्वजनिक गर्न रुसी ह्याकरहरुसँग विकिलिक्सले समन्वय गरेको विश्वास गरेको छ ।

विशेष काउन्सल रोबर्ट म्युलरले विकिलिक्स र राष्ट्रपति बन्नु अगाडी लामो समय डोनाल्ड ट्रम्पका सल्लाहकार रहेका रोजर स्टोनबीचको सम्बन्धमा अनुसन्धान गरेका थिए ।
महान्याधिवक्ता जेफ सेसन्सले गत अप्रिल न्याय विभागका लागि असान्जको गिरफ्तारी प्राथमिकतामा पर्ने बताएका थिए । यदि अमेरिकाले बेलायतबाट असान्जको हस्तान्तरण चाहेमा, असान्ज आगामी कयौं बर्षका लागि जेल पर्न सक्छ ।

गत जनवरीमा बेलायत सरकारले असान्जलाई कुटनितिज्ञको दर्जा प्रदान गर्न इक्वेडरले गरेको आग्रहलाई अस्विकार गरेको थियो । इक्वेडरका विदेश मन्त्रीले लन्डन स्थित उनको देशको दुताबासमा लामो बसाई अस्विकार्य हुने बताएकी थिइन् ।

‘यो मुद्दाको समाधान न्यायको सामना गर्न जुलियन असान्जले दुतावास छोड्नु पर्छ भन्ने कुरा इक्वेडरलाई थाहा छ ‘ युके विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तीमा उल्लेख गरेको छ ।
मोरेनोले पनि असान्जलाई यसअघि नै असान्जलाई ‘ह्याकर‘को संज्ञा दिँदै ‘जुत्तामा फसेको ढुंगा‘ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्