लालची, स्वार्थी र अप्ठ्यारा मानिस



कुनै पनि मुलुकको द्रुत विकासका लागि व्यक्तिको सोच, संस्कार नै राम्रो हुनु जरुरी छ । जबसम्म देशमा लालची, स्वार्थी र अप्ठ्यारा व्यक्तिहरु धेरै हुन्छन् त्यो मुलुकको विकास हुन गाह्रो छ । कुरा र अखबारमा विकास भइराखेको हुन्छ तर यथार्थमा मुलुक जस्ताको त्यस्तै भइराखेको हुन्छ, जुन हामीले भोगिराखेका छौं ।

यो मुलुकमा लोकतन्त्र, गणतन्त्र आएपश्चात् हामी धेरै तरिकाले अल्झिसक्यौं । तर अब सबै इमानदार भएर मुलुकको लागि केही योगदान गर्ने सोच राख्नु जरुरी भएको छ । जीवनमा सधैँ खाइराख्ने, पिइराख्ने, कमाइराख्ने र गफ दिइराख्ने हो भने मुलुकको विकास सधैँ उस्तै हो, भिखारीले सुट लगाएर घमण्ड गरिराख्नु र हाम्रो मुलुकको हालत उस्तै हुनेछ ।

विकासको गतिलाई नियाल्दा, सडकको हालत हेर्दा, पार्किङ सवारीको हालतलाई हेर्दा, मानिसको सानो सोच–संस्कारलाई हेर्दा मुलुक बन्न अझै पनि धेरै समय लाग्ने देखिन्छ । हामीले भात खाँदा दाँतमा ढुंगा लागेको जस्तो आभास भइरहेको छ यस देशमा । तैपनि यो देशमा सरकार, स्वार्थी व्यक्ति, लालची तथा पुँजीपति, दलालहरु एकनासले आफ्नै रवैयामा हिडिँराखेका छन् । जबकि सबै पक्षले एक–अर्कालाई लाञ्छना नलगाई परिवर्तन हुनुपर्ने आजको आवश्यकता हो ।

विकासको कुरा गर्दा विदेशीहरु दिन दुगुना रात चौगुनाका रफ्तारले आफ्नो मुलुकलाई अगाडि बढाइराखेका हुन्छन्, हामी लाटाले केरा हेरेझैँ विदेशीहरुको तारिफ मात्र गरिराखेको हुन्छौं । साथै मुलुकमा कुरा, गफ, गाली नै बढी भइराखेको हुन्छ, जुन मुलुकको विकासका लागि यी कुरा घातकसिद्ध हुन आउँछ ।

हुन त यो ३ दशकको दौरानमा मुलुकमा विकास नभएको भन्न मिल्दैन । उदाहरणका लागि व्यापारिक हिसाबले ठूला–ठूला मल, बिल्डिङ, दुकान, स्कूल, कलेज, हस्पिटलहरु आदि बने । तर मध्यमवर्ग तथा निम्नवर्गका व्यक्तिहरुले यहाँबाट लाभ लिन सकिराखेका छैनन् । बाँकी रह्यो पर्यटन, कृषि, जलविद्युत्का कुरा । यिनमा पनि बढी कडाइ, फोहोर, अभाव, सहुलियतको दुरुपयोग, पेन्डिङ काम आदि हुने गरेको देखिन्छ । यसले गर्दा गाडीहरु लामो समयको लागि जाम भइराखेको आभास भएको छ ।

मुलुकमा यस्तो बेला पनि सरकार सत्ता, भत्ता, जत्था तथा गफमा अल्झिराखेको देख्दा सर्वसाधारणलाई ताज्जुब लाग्नु स्वाभाविक हो । यो हामीलाई थाहा भएको कुरा हो कि यो देशमा नेताहरुका अतीत समय कमजोरका कारण यिनीहरुले द्रुतगतिमा मुलुकमा विकास गर्न सकेनन् । जुन सरकार आए पनि सर्वसाधारणलाई सधैँ झुट्टो आश्वासनमा अल्झाइराखेका हुन्छन्, जुन गलत कुरा हो । वास्तवमा भन्ने हो भने, अहिलेको वर्तमान सरकार एकलौटी मजबुत सरकार हो, तर यति बेला पनि यो वर्तमान सरकार चुक्यो र यत्तिकै पाँच वर्ष गफमा बितायो भने हाम्रो देशको भविष्य कहिल्यै राम्रो हुनेछैन, जुन नेपाली व्यक्तिहरुलाई दुःखदायी कुरा हुनेछ । यो मुलुकको दुर्भाग्य हो ।

हाम्रो जस्तो देशमा लोकतन्त्र आए पनि केही खट्किएका कुराहरु छन्, जुन कुनै पनि सरकारले परिवर्तन गर्दै लग्न सकेनन् । पहिलो कुरा उद्योग, कलकारखाना, स्कूल, कलेज, हस्पिटल, हाउजिङ आदिको विकास अब राजधानी हैन, राजधानीबाहिर गर्ने हो । चाहे त्यो मुलुकका कुनाकाप्चामै किन नहोस् । यस्ता कुरामा सरकारले सर्वसाधारणलाई सुविधा, सहुलियत दिएर हौसला दिने हो ।

यो मुलुकमा राम्रा व्यक्तिहरुका कमी छैन । यहाँ तर सरकारहरु भनौं वा देश चलाउनेहरु भनौं, प्रायः दक्ष व्यक्तिहरुलाई अँगाल्न चाहँदैनन् । बरु बदलामा घमण्ड, एकोहोरापना, गुटबन्दी तथा विदेशीको मुख ताकेर गफमा समय बिताउने गर्छन् । के यसरी मुलुकको विकास द्रुत गतिमा जान सक्छ ? हाम्रो जस्तो मुलुकमा सरकारी ओहदाका घूसखोरी व्यक्ति, धूर्त ठेकेदार तथा दलालहरुलाई काबुमा राखेर यिनीहरुलाई तह लगाउन नसक्नु पनि सरकारहरुको नालायकीपन हो । वास्तवमा भन्ने हो भने, देश विकासका बाधक यिनीहरु पनि हुन् । यसबाहेक सरकारको नून खाएर बजेटअनुसार राम्रो काम नगर्ने तर वर्षको अन्त्यमा हतार गरेर गुणस्तरहीन काम गर्ने यस्ता खराब कर्मचारीलाई सरकारले सजायँ दिन सक्नुपर्दछ ।

एउटै नायकका मात्र चलचित्र हेर्न मानिसलाई मन पर्दैन । यस्तै प्रकारले देशमा पनि फेरी–फेरी नयाँ नेताहरु आउनुपर्दछ । यसका लागि विद्यार्थीलाई राजनीतिक विज्ञान विषय अनिवार्य गर्नुपर्दछ । यसले गर्दा भविष्यमा राम्रा देश चलाउनेहरु उत्पादन हुन्छन् । यस्ता व्यक्तिले देशलाई सही किसिमले अगाडि बढाउन सक्छन् ।

– रमेशकेशरी वैद्य, क्षेत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्