अमेरिकी र रुसी विदेशमन्त्रीको फोनवार्ता



मस्को ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आइतबार फोनवार्ता गर्नुभएको छ ।

उहाँहरुले रुस—अमेरिका सहयोग र सम्बन्धको विस्तारका साथै सिरियाको विषयमा दुई देशले संयुक्त रुपमा के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्नुभएको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी उहाँहरुबीच कोरियाली प्रायद्वीपमा आगामी दिनमा गर्नुपर्ने प्रगति र विकासका लागि पनि दुई देशको सहकार्य हुनुपर्ने बारेमा कुराकानी भएको बताइएको छ ।

गएको सोमबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्याण्डमा भेटवार्ता भएको थियो ।

दुई नेताबीच भएको उच्चस्तरीय भनिएको सो वार्ता दुई जनाबीच एक्लाएक्लै दुई घन्टासम्म भएको बताइएको छ । जसका कारण यी दुई देशबीचको सम्बन्धमा सुधार आएको महसुस गरिएको छ ।

आइतबारको फोनवार्ता पनि सौहार्दपूर्ण र आपसी सहयोग र सद्भाव विस्तार गर्ने किसिमले भएको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्