डा. केसीको समर्थनमा जनप्रदर्शन, सरकार उत्रियो दमनमा



भगवती तिमल्सिना, काठमाडौं
प्राडा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शनिबार काठमाडौंमा व्यापक जनप्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलाबाट शुरु भएको जनप्रदर्शन नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।

माइतीघरबाट निस्केको जुलुसलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले डा. केसीले उठाउनुभएको माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिनुभएको थियो । डा. केसीको मागलाई जनताका मागका रुपमा लिन आग्रह गर्दै उहाँले यो सभामा बोलेर सरकारको विरोध गरेको नभई डा.केसीका सही मागको पक्ष लिएको बताउनुभयो ।

उहाँले यो डा.केसीको एक्लो माग नभएर आम जनताको माग भएकाले तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्नुभयो ।

साहित्यकार खगेन्द्र संग्रौलाले डा.केसीको माग आमजनताको माग हो भन्ने बुझेर पनि सरकारले नबुझै गरिरहेको आरोप लगाउनुभयो । केपी ओली र प्रचण्डको शैली राजा ज्ञानेन्द्रको भन्दा फरक नरहेको टिप्पणी गर्दै उहाँले डा.केसीलाई सरकारले अपराधीको जस्तै व्यवहार नगर्न चेतावनी दिनुभयो ।

सरकारले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालमा लाठिचार्ज, अश्रुग्यास तथा गोली प्रहार गरेकोप्रति कटाक्ष गर्दै साहित्यकार संग्रौलाले भन्नुभयो– ‘अस्पतालबाट अपहरण शैलीमा डा. केसीलाई काठमाडौं ल्याइन्छ । काठमाडौं ल्याएपछि मागको विषयमा कुनै पनि चासो दिइँदैन । उहाँको आन्दोलनलाई कांग्रेसको आन्दोलन भनेर बिल्ला लगाउनु दुःखद कुरा हो ।’

‘हामी कुनै पार्टीको बिल्ला भिरेका व्यक्ति होइनौ । के सही र सत्य कुराको उजागर गरेर जनताको पक्षमा शान्तिपूर्ण रुपमा लडाइँ लडिरहनुभएका डा.केसीको मृत्युको चाहेकोे’ –उहाँले प्रतिप्रश्न गर्नुभयो ।

अभिनेत्री मनीषा कोइरालाले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँ माइतीघर मण्डलादेखि बानेश्वरसम्म जारी ¥यालीमा ‘म डा केसी’ लेखिएको व्यानर समाउँदै अग्रपंक्तिमा हिँड्नुभएको थियो ।

यसैबीच सोही सभा चलिरहेको बेला नजिकै तरुण दलद्वारा आयोजित अर्को कार्यक्रममाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यति नै बेला अभिनेत्री कोइराला बोलिरहनुभएको थियो । उहाँको आँखामा अश्रु ग्यास परेपछि सभाबाट बाहिरिनुभएको थियो । उहाँले तत्कालै ट्वीटरमा ट्विट गर्दै डा. केसीको माग पूरा गर्न माथेमा कार्यदलको प्रतिवेदन लागू गर्नुपर्ने उल्लेख गर्नुभएको छ । अभिनेत्री कोइरालाले माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु नै एक मात्र तार्किक समाधानको उत्तम विकल्प भएको उल्लेख गर्नुभएको छ ।

अभिनेत्री कोइराला बाहिरिएलगत्तै मानवअधिकारवादी नेता कृष्ण पहाडी बोल्न थाल्नुभयो । त्यही बेला प्रहरीले लाठी प्रहार समेत ग¥यो । प्रहरीको सो कदमपछि प्रदर्शनकारीले पनि ढुगा प्रहार गरेका थिए । दोहोरो झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा २ जना डीएसपीसहित ११ प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । यस्तै तरुण दलका ४ दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएको तरुण दलले विज्ञप्तिमार्फत जनाएको छ । घाइतेहरूको निजामती अस्पताल बानेश्वरमा उपचार गरिएको थियो । घाइतेलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले तत्कालै भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

केसीको समर्थनमा सामूहिक अनशन

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि वसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।

प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

यसैबीचनेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले शनिबार त्रिवि शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेट्नुभएको छ । विगतका अनशनमा जस्तै यसपटकको भेटका क्रममा उहाँले डा.केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

विनासर्त वार्तामा आउन आग्रह

सरकारले अनसनरत डा. गोविन्द केसीलाई विनाशर्त वार्तामा आउन आग्रह गरेको छ ।
वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिवार जारी प्रेस विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा.केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको विज्ञप्तिमा जनाइएको छ ।

डा.केसीको जीवन रक्षाको लागि काठमाडौं ल्याइएको जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ –डा. केसीका माग वार्तामार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डा. केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गर्दछ ।’

असार ३२ गते सरकारद्धारा गठित वार्ता टोलीले ३ पटकसम्म वार्ता गर्दा समेत समस्या समाधान हुन सकेको छैन ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा डा.केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट समाधान गरिने बताउनुभएको छ ।

देउवा सोझै बालुवाटारमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार सीधै बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डा.गोविन्द केसीको मागप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमनकारी नीति अपनाए सडक र सदनबाट अझ कडा विरोधमा उत्रने चेतावनी दिनुभएको सभापति देउवाको स्रोतले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले आफ्नो सरकारको पालामा जारी गरिएको चिकित्सा शिक्षा अध्यादेश नै केसीको मागको समाधानको उपाय भएकाले उहाँसँग तत्काल वार्ता गर्न सुझाव दिनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्