पुटिनलाई अमेरिका भ्रमणको निम्तो, अमेरिकी अधिकारी चकित



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन् ।

यसबारे ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका हुन् ।ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ ।

ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको प्रसङ्ग सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले आश्चर्य प्रकट गरेका छन् ।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको खबरप्रति आश्चर्य व्यक्त गरेका छन्।एक सम्मेलनमा हाँसेर बोल्दै उनले ‘त्यो भ्रमण विशेष हुने’ प्रतिक्रिया दिएका छन्।

उनले हेलसिन्की बैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफूलाई केही थाहा नभएको बताए ।यद्यपी, रुसको भने यसबारे केही प्रतिक्रिया आएको छैन ।

हेलसिन्की बैठकपछिको पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाका विषयमा तीव्र विवाद भइरहेको छ ।तर ट्रम्पले ट्विटरमार्फत् दिएको सन्देशमा रुसमा भएको शिखर बैठक निकै सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्