लेडी हिरो रेखाको सुदूरपश्चिमेली रूप



लेडी हिरो रेखा थापाद्वारा निर्मित, निर्देशित र अभिनित फिल्म मालिकाको गीत सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित एक समारोहबीच मालिकाको हल्का माया के माया बोलको गीत सार्वजनिक भएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिजुअलमा रेखा कोरस कलाकारको ठूलो समूहका साथ प्रस्तुत भएकी छिन्।

सुदूरपश्चिमको भाका, भाषा र शब्दयुक्त गीतको भिजुअलमा त्यहाँकै रहनसहन र कला संस्कृति समेटिएको छ। स्लो फ्लोक शैलीको गीतमा रेखा गुन्यु–चोलोमा प्रस्तुत भएकी छिन्। गीत र यसको भिजुअल बूढासुब्बा म्युजिकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ। फिल्मको यो गीत नारा कार्कीको शब्द रचना र सुरेश अधिकारीको संगीतमा अञ्जु पन्तले गाएकी छिन्।

‘मालिका मेरो अर्को फिल्म होइन, विगतका फिल्ममा दिन नसकेका कुरा, अपूर्णता, अभावको पूर्ण रूप हो। तथापित यो पनि पूर्ण नहुन सक्छ’, कार्यक्रममा रेखाले भनिन्– ‘म व्यावसायिक वा मनोरञ्जनात्मक भए पनि नारीको उत्थान गर्ने नारी प्रधान फिल्म नै निर्माण गरिहेकी छु र मालिकासम्म आउँदा गम्भीर भएकी छु। त्यो केले भने देशका विभिन्न स्थानमा पुगेर त्यहाँका स्थिति देख्दा नेपाली फिल्मले मेची–महाकालीलाई सम्बोधन गरेको छ कि छैन भन्ने सधैं लाग्ने गर्छ। पहाड र तराईलाई सम्बोधन गरेको छ कि छैन भन्ने प्रश्न उठ्ने गर्छ। शिक्षा, स्वास्थ्य, राजनीति क्षेत्रले राष्ट्रलाई योगदान गर्न सक्छ भने यो क्षेत्रले किन सक्दैन भन्ने लाग्छ? मुगुको महिलाले यो मेरो फिल्म भन्ने उत्थान गर्ने कि नगर्ने? यही सोचेर यसपालि मालिका बनाएकी छु।’

आगामी कात्तिक २१ गते लक्ष्मीपूजाको दिन अल नेपाल रिलिज हुने फिल्ममा कथा र कल्पना रेखा थापा र नारा कार्की, पटकथा शिवम् अधिकारी, छायांकन रामशरण उप्रेती र संवाद बनिष शाहको रहेको छ। सरस्वती थापाको निर्माण र नारा कार्कीको कार्यकारी निर्माण रहेको फिल्ममा कमला वलीलाई डेब्यु दिइएको छ भने रेखा थापाका साथमा अन्य कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्