भारतमा तेस्रो लिंगी समुदायका तीन न्यायाधीश



काठमाडौं । समाजमा तेस्रो लिंगीका सदस्यलाई समायोजन हुन समस्या छ । नेपाल मात्र होइन, विकसित देश भारतमा पनि यो समस्या छ । नेपालमा त उनीहरुले नागरिकतासमेत पाउन सकेका छैनन् । भारतमा बाँच्नका लागि तेस्रो लिंगीका सदस्यहरु मागेर खानसमेत बाध्य छन् ।

तर पछिल्लो समय यिनै तेस्रो लिंगी समुदायका सदस्य अदालतमा न्यायाधीश नियुक्त हुन थालेका छन् । भारतले तीन तेस्रो लिंगीलाई न्यायाधीश नियुक्त गरेर उनीहरुको क्षमताको कदर र आत्मसम्मान दिएको छ ।

१४ जुलाइमा असमको गुवाहाटीस्थित कामरुप जिल्लाको लोक अदालतमा २६ वर्षीया स्वाति बि बरुवा न्यायाधीश नियुक्त भएपछि उनी भारतको तेस्रो लिंगी समुदायबाट तेस्रो न्यायाधीश बनेकी हुन् । अदालतमा २० न्यायाधीश कार्यरत छन् । बिकम पढेपछि कानुन पढेकी स्वातीले भनिन्, ‘यो समाजका लागि सकारात्मक सन्देश हो । समलिंगीप्रति समाजले हेर्ने नजर बदलिन सहयोग पुग्छ ।’

स्वाती असमको पाण्डु शहरमा जन्मिएकी हुन् । स्वातिअघि पश्चिम बंगाल र महाराष्ट्रमा पनि तेस्रो लिंगी समुदायका सदस्य न्यायाधीश बनेका थिए । स्वातिअघि भारतकोे दोस्रो तेस्रोलिंगी न्यायाधीशका रुपमा जोयिता मण्डललाई ८ जुलाइ २०१७ मा पश्चिम बंगालको इस्लामपुर लोक अदालतमा न्यायाधीश नियुक्त गरिएको थियो ।

यस्तै, ३६ वर्षीया सत्यश्री शर्मिलालाई भारतकै पहिलो तेस्रो लिंगी न्यायाधीशका रुपमा तमिलनाडु बार काउन्सिलले नियुक्त गरेको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्