फेरि फिल्मी भिडन्तको बाढी



-रश्मी थापा

केही सातायता फिल्मको व्यापार खस्किएको छ। केही महिनायता प्रदर्शनमा आएका फिल्मले गतिलो व्यापार गर्न सकिरहेका छैनन्। विश्वकप फुटबलको प्रभावका कारण पनि फिल्महरुले आशा गरेअनुरूपको व्यापार नगरेको बेला हप्तैपिच्छे फिल्म रिलिज भने भई नै रहेका छन्। त्यो पनि १/२ फिल्म होइन, २ भन्दा बढी ४–४ फिल्म एकै साता एक–आपसमा भिडिरहेका छन्। यसरी हेर्दा लाग्छ फेरि पनि बजारमा फिल्मी भिडन्तको बाढी पसेको छ।

गत शुक्रबार एकैसाथ ४ फिल्म रिलिजमा आए। मिलन चाम्स निर्मित तथा निर्देशित बोबीसहित बाबुकान्छा, वीराङ्गना र पागल छ यो मन एक एकसाथ प्रदर्शनमा आए। अग्र्यानिक लभ स्टोरीमा बनेको भनिएको फिल्म बोबीमा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका थियो। उनीहरुकै रियल लभ स्टोरीमा बनेको फिल्ममा उमेश र कविता रिल जोडी मात्र होइनन् रियल जोडी पनि हुन्। फिल्म उनीहरुकै जीवनका विभिन्न घटनाले घेरिएको छ। फिल्ममा उनीहरुको साथमा विजय लामा, रुवि राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, शूरवीर पण्डित, रवि गिरी, शिशिर राणा, बादल भट्ट पूर्णिमा लामा, एलिसा थापालगायतको अभिनय रहेको छ। फिल्मले मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको छ।


त्यसै गरी शोभित बस्नतेको कथा, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म बाबुकान्छाको व्यापार सन्तोषजनक देखियो । पारिवारिक कथामा बनेको फिल्ममा सलोन बस्नेत र करिश्मा श्रेष्ठको मुख्य भूमिका रहेको छ। सलोन सलिना फिल्म्स्को ब्यानरम बनेको फिल्मका अन्य कलाकारमा सरोज खनाल, नीर शाह, सम्राट सापकोटा, ऋतिक शाही, राजाराम पौडेल, लय संग्रँैला सुशान्तकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ। राजबहादुर सानेको निर्देशन रहेको अर्को फिल्म वीराङ्गनाले पनि सामान्य व्यापार गरेको छ। एक्सन नजराको नारी प्रधान फिल्ममा शिल्पा पोखरेल, अनुपविक्रम शाही र पृथ्वीराज प्रसाईंको प्रमुख भूमिका रहेको छ।

कल्याण अधिकारीद्वारा निर्देशित प्रेम कथामा आधारित फिल्म यो पागल मन हलमा खासै जन्म सकेन। फिल्ममा विनोद न्यौपाने र ऋचासिंह ठकुरीसहित गौरी मल्ल, राजेश ढुंगाना, मनीष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारको अभिनय रहेको छ।

अघिल्लो शुक्रबार एकसाथ ४ फिल्म आएको सिने बजारमा यो साता पनि राम्रै भिडन्त हुँदै छ। यो शुक्रबार पनि भैरे, चक्कर, पण्डित बाजेको लौरी जस्ता फिल्म रिलिजमा आउने भएका छन्।
एभरेस्ट सूर्य बोहोराद्वारा लिखित तथा निर्देशित फिल्म भैरेमा दयाहाङ राई मुख्य भूमिकामा छन् भने उनका साथमा सुरक्षा पन्त, वर्षा शिवाकोटी, सुनील थापा, बुद्धि तामाङ, जयनन्द लामा, सविता गुरुङ, जा≈नवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी, शूरवीर पण्डितलगायतले अभिनय गरेका छन्।

अनुश्का रौनियरको निर्देशन र सम्पादन तथा डाइङ क्यान्डलका सिनेमाटोग्राफर रविन आचार्यको निर्माण तथा छायांकन रहेको फिल्म चक्कर शुक्रबार नैै रिलिज हँुदै छ। अभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेललगायतको अभिनय रहेको छ।दीपक ओलीको निर्देशनमा बनेको अर्को फिल्म पण्डित बाजेको लौरीको रिलिज पनि शुक्रबारै रहेको छ। विजय बराल र सन्ध्या केसी वादी र बदिनीको भूमिकामा रहेको फिल्ममा भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र विक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले अभिनय गरेका छन्।
यसरी एकै साता २ भन्दा बढी फिल्म रिलिज हुँदा सम्बन्धित फिल्मका निर्माताहरु मारमा पर्ने गरेका छन्। २ भन्दा बढी फिल्म रिलिज हुँदा सबै फिल्मले यथेस्ट हल नपाउने र दर्शक बाँडिने हुँदा फिल्मको कमाइमै असर पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्