क्रोएसियाकी राष्ट्रपतिको संसारमै चर्चा



काठमाडौं, (नेस)
क्रोएसिया रुसमा भएको फिफा विश्वकप फाइनलमा हारे पनि क्रोएसियाकी राष्ट्रपति कोलीन्डा ग्राबर किटारोभीचको गतिविधिले सबैको ध्यान त्यतातिर तानिएको छ ।

राष्ट्रपति कोलीन्डाले फ्रान्ससँग ४–२ ले हारेको क्रोएसियाका प्रत्येक खेलाडीलाई अँगालो मारेर आँसु पुछिदिएर सान्त्वना दिइरहेकी थिइन् । यो क्षणले संसारमा कोलीन्डाको वाहवाही भएको छ । एकतर्फ उनी पानीले भिजिरहेर पनि आफना खेलाडीलाई पानीको वास्ता नगरी सान्त्वना दिइरहिन । अर्को तर्फ आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई अर्को व्यक्तिले छाता ओढाइरहेका थिए । टेलिभिजनमा भएको प्रत्यक्ष पुरस्कार वितरण समारोहमा पुटिनले भिजेकी कोलीन्डालाई हेरिरहेका थिए ।

कोलीन्डाले क्रोएसियाको सेमीफाइनल खेल बाहेक सबै खेल हेरेकी थिइन् । उनी जित्दा खुशीले उफ्रेको पनि थिइन् । जब रुसलाई क्वार्टरफाइनलमा पेनाल्टी शूटआउटमा हरायो तब उनी रुसका प्रधानमन्त्रीको सामुन्ने नै खुशीले नाचिन । तर फाइनलमा हारेर पनि उनको अनुहारमा मुस्कान रह्यो । यसलाई सारा संसारले खेल भावना रहेकी व्यक्तिको रुपमा तारिफ गर्न थालेका छन् ।


आईतबार राति पनि पुरस्कार वितरण समारोह हुँदा कोलीन्डाले फ्रान्सका राष्ट्रपति एमम्यानुल माकरोनको हात समाएर आएकी थिइन् । उनको साथ रुसका राष्ट्रपति भ्लादिमीर पुटिन पनि थिए । कोलीन्डाले सबैभन्दा पहिला उदीयमान खेलाडी कीलीएन एम्बाप्पेलाई अंकमाल गरिन् । यसपछि यो क्रम जारी रह्यो पुरस्कार वितरण समाप्त नहुन्जेल । ५० वर्षीया कोलीन्डाले आफनो टोलीका प्रत्येक खेलाडी र कोचलाई मायाका साथ अंकमाल गरेकी थिइन् । तर उनले फ्रान्सका खेलाडीलाई पनि त्यसरी नै अंकमाल गरिन् ।

विश्वकप नजिते पनि कोलीन्डाले ट्रफी चुम्न भने भुलेनन् । उनले जानेबेला विश्वकप ट्रफी उचालेर चुम्बन गरिन् । फेरि माकरोनलाई अंकमाल गरिन र जितको बधाई दिइन । उनको यो व्यवहारले उनी विश्वको सबै सामाजिक संजालमा सुपरहिट भएकी छिन् ।

विश्वकप फ्रान्सले जिते पनि करोडौं फुटबल प्रेमीको मन क्रोएसियाको टीमले जित्यो । पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएसियाले अर्जेन्टिना जस्तो शसक्त टिमलाई हराएको थियो । ४० लाखको जनसंख्या भएको क्रोएसियाले संसारमा फुटबल समर्थकको लागि माया गर्न नयाँ टिम दिएको छ ।

नोभेम्बरमा कतार विश्वकप हुने
आगामी सन् २०२२ मा हुने २२ औं विश्वकप नोभेम्बर २१ देखि शुरु हुने भएको छ । यसको समाप्ति क्रिसमस यानी डिसेम्बर २५ भन्दा सात दिन अघि हुनेछ । फिफाले जनाएअनुुसार जुन जुलाईमा कतारमा धेरै तापक्रम बढ्ने भएको हुँदा विश्वकप आयोजना गर्ने संभव हुँदैन ।

प्रतिक्रिया दिनुहोस्